जनता रहे भाषा रहन्छ वा भाषा रहे जाति रहन्छ ?

0
77

० कृष्ण प्रजापति
भक्तपुरमा दशैं लागेसंगै एकथरी साहित्यिक माहोल तयार हुने गर्दछ । छ दशक अगाडिदेखि निरन्तर सञ्चालन भइरहेको बिराट नेपालभाषा साहित्य सम्मेलन गुथिको बिराट सम्मेलन र चार दशक अगाडिदेखि निरन्तर अगाडि बढिरहेको नेपालभाषा साहिरत्य तःमुँज्या । यो निरन्तर रुपमा प्रत्येक वर्ष सञ्चाल हुँदै आइरहेको कार्यक्रम हो । यसले दिँदै आएको नारा र धारणाले गर्दा प्रत्येक वर्ष मानिसहरुको डिमाग खाने गरेको पाइन्छ । साख गरी जातीय स्वतन्त्रतालाई दबाएर राष्टको उत्थान हुन सक्दैन भन्ने नारालाई मूल नारा बनाएर साठी वर्ष अगाडि भक्तपुरमा स्थापना भएको बिराट सम्मेलन स्थल एउटा धारणाबाट मानिसहरुलाई आकर्षित गरिरहेको हुन्छ । महाकवि सिद्धिदास महाजुले आफ्नो रचनामा कहिं कतै उल्लेख नगरेपनि उनले भनेको भनी उनको नाम सहित ब्यानर प्रदर्शन गरिएको हुन्थ्यो कि भाषा रहे जाति रहन्छ । तर यो बिराटको भनाई भने होइन । बिराट सम्मेलन स्थलमा प्रदर्शन गरिने महाकवि सिद्धिदास महाजुको महान उक्ति हो । यो एक हिसाबले दार्शनिक र उच्च भावनाको अभिब्यक्ति हो ।
त्यसैगरी आधुनिक नेपालभाषा उत्थान र विकास गर्ने भनेर बर्गीय दृष्टिकोणलाई अगाडि सारी बयालिस वर्ष अगाडि नेपाल संवत ११०० सालमा भक्तपुरमा स्थापना भएको नेपालभाषा साहित्य तःमुँज्याले पनि साहित्य राजनीतिको हतियार हो भन्ने भावनालाई अंगिकार गर्दै जनता रहे भाषा रहन्छ भन्ने नारा लगाउँदै आइरहेको छ । यी दुई दृष्टिकोण जनता रहे भाषा रहन्छ र भाषा रहे जाति रहन्छ भन्ने धारणा बिपरित जस्तो मान्ने गरेको पाइन्छ । वास्तवमा साधे एक सय वर्ष अगाडि चन्द्रशमशेरको पालामा एक महान दार्शनिक भावनाले प्रस्फुटन भएको आवाज हो भाषा रहे जाति रहन्छ । भाषाले नै जातिको पहिचान स्पष्ट हुने र खास गरी नेपालभाषा बोल्ने भएको कारणले नै नेवाः कायम भएकाले भाषा रहे जाति रहन्छ भन्ने धारणा अत्यन्तै सान्दर्भिक धारणा पनि हो । भाषाले नेवाः जाति एकता गर्न बल मिलेको छ । होइन भने यो समुदाय भित्र बाहुन वा आर्यन जस्तो अनुहार भएका हिन्दू समुदाय, भोट बर्मेली परिवारको जस्तो अनुहार भएका बौद्ध समुदाय आपसमा मिलेर रहन सक्ने थिएन होला ।
चाहे आर्यन होस् चाहे मंगोलियन होस वा धर्म र संस्कृतिको हिसाबले पनि बौद्ध, हिन्दू, क्रिश्चियत, मुसल्मान जो सुकै किन नहुन् भाषाले मात्रै हामी नेवाः जातिलाई नेवाः भनेर चिनाइएको छ । त्यसैले नेवाः जाति, नेपालभाषा, नेवाः संस्कृति र नेपाल संवत भनेको एकताको सुत्र नै हो । यही दृष्टिकोणलाई उजागर गर्ने हिसाबले भाषा रहे जाति रहन्छ भन्ने धारणा अगाडि आएको हो । तर बयालिस वर्ष अगाडि बिराटसंग विभिन्न कारणले बेमेल भएर त्यसबाटै चोइटिएर आइकन आज सम्म जनतालाई प्रधान सम्झेर जनतासंग सामित्य रही लेख्ने साहित्यको मान मर्यादालाई कायम गर्न सफल नेपालभाषा साहित्य तःमुँज्याले भने जनता रहे भाषा रहन्छ भनिरहेको छ । के यो गलत हो र ? जनता बाँच्न सकिएन भने जनताले बोल्ने भाषा कसरी रहन सक्छ र ? सचेत जनता बाँच्नु पर्यो, भाषा बोल्नेहरु हुनु पर्यो अनि मात्रै उनीहरुले बोल्ने भाषा बाँचिरहन्छ । त्यसैले जनता रहे भाषा रहन्छ भनेर एक राजनीतिक दृष्टिकोण बोकेको तःमुँज्याको धारणालाई सही मान्नै पर्दछ । यो राजनीतिक दृष्टिकोण हो ।
जनता बाँच्न नसकेसम्म भाषा बचाउनै सक्दैन । वा जनता बाँचेर मात्रै भाषा बचाउन सकिन्छ भन्ने जुन राजनीतिक र वर्गीय दृष्टिकोण छ । यो नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले निकै साधना गरेर पत्ता लगाउनु भएको दर्शन हो । त्यसैले साहित्य राजनीतिको हतियार हो वा साहित्य राजनीति गर्ने हतियार हो । यो धारणा पनि साहित्यकार हरिबहादुर श्रेष्ठको नामबाट प्रसिद्ध राजनीतिज्ञ नारायणमान बिजुक्छेँ रोहितले चालिस वर्ष अगाडि नै उजागर गर्नु भएको धारणा हो । यति धरिलो धारणालाई पनि बेला बखत कहिं कतै नयाँ दार्शनिकहरुले केही पनि होइन जस्तो गरी कहिले काहिं जनता रहे भाषा रहन्छ वा भाषा रहे जाति रहन्छ भनेको ठीक विपरित धारणा पो हो कि वा विराट र तःमुँज्याको विभाजनको आधार नै त्यही हो कि भनेर बिश्लेषण गर्नेहरु पनि यहाँ नभएका होइनन् । तर यी दुबै धारणाले जनतालाई त्यतिकै समेट्न सफल भएको छ । जसरी हिजो देखि आजसम्म हिन्दू धर्म र बौद्ध धर्मले हाम्रो जस्तो धर्म निरपेक्ष देशमा पनि रहेर धार्मिक सहिष्णुतालाई लामो समय अगाडिदेखि सद्भाव कामय गरी अगाडि बढिरहेको छ । आजैदेखि हामीले यो धारणालाई आत्मसात गरी भाषा, जाति, साहित्य र सामाजिक उत्थानको लागि अगाडि बढ्ने हो भने हाम्रो आफ्नो मार्ग प्रसस्त भएर जानेछ । दृष्टिकोण भनेको यही हो । जाने बाटो कसरी बनायो भने लक्ष्यमा चाँडो पुग्न सकिन्छ भन्ने भावना नै सही दृष्टिकोण हो । यो दार्शनिक पक्ष हो । दर्शन दुबै भनाईले समेटेका छन् ।
जनता रहे भाषा रहन्छ र भाषा रहे जाति रहन्छ भन्ने विपरित धारणा होइन । जनता रहे भाषा रहन्छ स्पष्ट वर्गीय दृष्टिकोण हो । किनभने जनता भाषा बोल्दछन् । जनता विना भाषा बोल्नेहरु रहन्न । भाषा त संस्कृत छ नि । तर संस्कृति भाषा बोल्ने जनता नभएका कारण संस्कृति भाषा मृत भाषा हुन पुगेको छ । भोलि हामीले आफ्नो मातृभाषालाई हेला होचा गरी खस् नेपाली भाषा वा अंग्रेजी भाषा मात्रै बोल्यो भने वा भाषा प्रति सचेत जनता रहेन भने भाषा रहन सक्दैन । नेपालभाषा बाँच्न सक्दैन । यो पनि संस्कृत भाषा जस्तै मृत भाषा वा मरेको भाषा हुन जानेछ । भन्न खोजेको कुरा यति मात्रै हो । तर भाषा बाँच्यो भने जाति बाँच्छ भन्नुको तत्पर्य यसको विपरित होइन । भाषा बाँचिरहे सम्म हामी नेवाः जाति रहन्छ भन्ने कुरा सतप्रतिशत सत्य हो । यसमा खण्डन गर्नुपर्ने, शंका गर्नुपर्ने वा बिरोध गर्नु पर्ने कुनै कारण नै छैन । अहिले पनि बिराटको ब्यानर एउटामा भनाई लेखेर टाँस्यो भनी तःमुँज्याले खण्डन गरेको पनि छैन । यो धारण गलत छ भनेको पनि छैन । जनता रहे भाषा रहन्छ त तःमुँज्याले सुरुदेखि घन्काउँदै आइरहेको राजनीतिक नारा नै हो । यो बिरोध गरेको पनि होइन ।
यसरी भाषा रहे जाति रहन्छ र जनता रहे भाषा रहन्छ भन्ने धारणा दुबै त्यतिकै समेटेर लग्नु पर्ने धारणाहरु हुन् । यो विपरित धारणा पनि होइन भन्ने स्पष्ट हुनु आवश्यक छ । दुबै धारणाले मानिसको मन मस्तिस्क भित्रै त्यतिकै स्थान ओगट्ने गरेको छ । यो अत्यन्तै सराहनीय पक्ष नै हो ।