जसपा र लोसपाको तानातानले हैरान कार्यकर्ता न नेतालाई दशैं लाग्यो न कार्यकर्ताले राम्रोसँग दशैं मनाउन पाए

0
37

काठमाडौं । दशैंको बेला पनि जनता समाजवादी पार्टी (जसपा) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  केन्द्रीय तहका नेताहरुलाई फुर्सद भएन । विशेष गरी प्रदेश २ जसपा र लोसपाको आधार भूमि हो । त्यसैले एक अर्काको कार्यकर्ता तानातान  गर्न  जसपा र लोसपाका शीर्ष नेताहरु अहिले प्रदेश २ मा केन्द्रीत भएका छन् ।

दशैको बेला पार्टीका कार्यकर्ता तथा मतदाताहरु धेरैजसो घर फर्केका हुन्छन । यही बेला उनीहरुसँग भेटघाट तथा सम्पर्क गर्न मधेस केन्द्रित दलका नेताहरु मधेस गएका हुन् ।  केन्द्रमा पार्टी गठन भए पनि लोसपाका प्रदेश तथा जिल्ला समितिहरु अझै बनेका छैनन् । प्रदेश समिति तथा जिल्ला समिति बनाउन जसपाका स्थानीय नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउनु पर्ने वाध्यता लोसपाका नेताहरुलाई छ ।

सार्वजनिक पदमा नबसेका स्थानीय कार्यकर्ताहरुलाई एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्न कानूनी रुपमा कठिनाइ उत्पन्न हुँदैन । सार्वजनिक पद धारण गरेका कार्यकर्ताहरुलाई भने एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्न उनीहरुको सार्वजनिक पद गुम्ने खतरा हुन्छ ।

जसपा र लोसपाका भोट बैंक एउटै हो । पार्टीका केन्द्रीय नेताहरु यता उता मात्र भएका हुन् । विशेष गरी पूर्व राष्ट्रिय जनता पार्टीमा सम्बद्ध भएका नेताहरु अहिले लोसपामा छन् भने पूर्व समाजवादीमा आवद्ध भएका नेताहरु अहिले जसपामा छन् । उनीहरु कहिले यता र कहिले उता जाने गरेका छन् ।हाम्राकुराको सहयोगमा