उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र सँगै हानेको जापानको दाबी 

0
13

टोकियो : उत्तर कोरियाले मंगलबार बिहान दुईवटा क्षेप्यास्त्र सँगै प्रहार गरेको दाबी जापानले गरेको छ। उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा छोटो दुरी र लामो दुरी गरी दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको हो।

जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाले हानेको क्षेप्यास्त्र अत्यन्तै खेदजनक रहेको  बताएका छन्। पछिल्लो समय उत्तर कोरियाले निरन्तर रुपमा क्षेप्यास्त्र प्रहार गरेको विषयमा छलफल र विश्लेषण चलिरहेको बेला सो क्षेप्यास्त्र प्रहार भएको भन्दै प्रधानमन्त्रीले खेदजनक रहेको बताएका हुन्।

जापान सरकारका प्रवक्ता योसिहिको आइसोजाकीले उत्तर कोरियाले निरन्तर गरिरहेको क्षेप्यास्त्र प्रहारले जापान र आसपासका क्षेत्रको सुरक्षा र शान्ति खतरामा पार्नुका साथै चुनावलाई समेत असर पुग्ने बताएका छन्। मंगलबार जापानको समुद्री एवम् आर्थिक क्षेत्रमा उत्तर कोरियाले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

यसअघि उत्तर कोरियाले अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो। उत्तर कोरियाले गरेको निरन्तर क्षेप्यास्त्र प्रहारप्रति अन्तर्राष्ट्रिय समुदायले कडा निन्दा गर्दै आएको छ।

न्यूयोर्कमा हालै भएको संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा उत्तर कोरियाले आत्मारक्षाका लागि हतियार बनाउनु तथा क्षेप्यास्त्र परीक्षण गर्नु आफ्नो अधिकार भएको बताएको थियो।