भक्तपुरमा १३ सय रोपनीमा धान फलेन, चाँगुनारायण नगरपालिकाले किसानलाई राहत दिने

105
भक्तपुर । भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकाँश किसान मर्कामा परेका छन् ।
करिब १३ सय रोपनीमा जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानिय विउविजन संरक्षण तथा विषादी सम्वन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिईएको थियो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।
भक्तपुरका किसालले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरी रहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार केले पाल्ने चिन्तामा भक्तपुरका किसानहरुर रहेको नेपाल कृषक समूह महासंघका जिल्ला अध्यक्ष टेकवहादुर लाखाले जानकारी दिनुभयो ।
बाग्मती प्रदेशका राष्ट्रिय कृषक समूह नेपाल महासंघका अध्यक्ष विजय तामाङले चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका गरी करिब १२ देखि १३ सय रोपनी जमिनमा रोपेको डी वाई २८ जातको हाइब्रिड धानमा एउटा पनि दाना नलागेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको बताउनुभयो । स्थानीय लोकल जातको धान रोप्दा चार पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको अध्यक्ष तामाङ बताउनुभयो ।
अध्यक्ष तामाङले भन्नुभयो ‘पछिल्लो समय धेरै उत्पादन गर्ने लोभमा किसानले हाइब्रिड जातको धान रोप्न थालेपछि एक÷दुई किसानबाहेक कुनै पनि किसानसँग लोकल जातको बीउ नै छैन ।
चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए, धानमा दाना नलागेपछि अब किसानसँग न त भात खान धान छ न त बीउ नै छ ।’ जिल्ला अध्यक्ष टेक वहादुर लाखा बताउँनुहुन्छ । उहाँका अनुसार अनुसार करिब १३ सय रोपनी खेतमा रोपेको धानमा दाना नलाग्दा करिब ३ करोडको ३८ क्षति भएको छ । प्रतिकिलो रोपनीमा १० मुरी धान उत्पादन हुन्छ ।
प्रतिमुरीमा करिब ६५ किलो धान फल्छ । हाल बजारको धानको मूल्य करिब ४० रुपैयाँ छ । सो हिसाब गर्दा १३ सय रोपनी खेतमा दाना नआउँदा ३ करोड ३८ लाख रुपैयाँ क्षति भएको हो ।
नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले लोकल स्थानीय जातको बीउ बीजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षत हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको बताउनुभयो । किसानलाई हाइब्रिड बीउबिजनतर्फ आकर्षत गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको अधिकारीले बताउनुभयो ।
कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने अधिकारीको भनाइ छ ।
‘भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको किसान कुलवहादुर न्ह्ेमाफुकिले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समयमा १४ हजार भन्दा बढि किसानको खेत बाँझै भएको थियो । सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ । हाइब्रिड जातको धान बीउ प्रयोग गर्दा यस्ता समस्या पटकपटक दोहोरी नै रहन्छन् । त्यसकारण किसानले पनि सचेत हुनुपर्छ ।
लोकल स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले बताउनुभयो । उहाँका अनुसार खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ ।
चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीका सवालमा भने नरपालिकाले पनि अध्ययन गरि रहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अव उक्त किसानहरुलाई कसरी के राहत दिन सकिन्छ भन्ने विषयमा आफूहरु छलफलमा जुटेको समेत उहाँले बताउनुभएको थियो ।
नगर भित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले आपतकालिन कोशबाट केहि राहत उपलब्ध गराउने समेत जानकारी दिनुभएको थियो ।