घरेलु उद्योगमा फड्को, एक वर्षमै झन्डै २ खर्ब लगानी

48

काठमाडौं । मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी खेप्नुपरेको पछिल्लो एकवर्षमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ लगानी भएको छ ।

वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा लघु घरेलु उद्योग कोरोना महामारीको संक्रमणपूर्ण एवं एकदमै संकटकालको सो अवधिमा समेत झन्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार यो अवधिमा आपूmसँग भएको सानो पुँजी र ज्ञान सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा मुलुकले फड्को नै मारेको भन्नुपर्ने अवस्था छ । यसभन्दा अघिल्ला आवमा यति धेरै उद्योग दर्ता नै भएका थिएनन् ।

आर्थिक वर्ष २०७७-७८ को गत असार मसान्तसम्म देशभर यस्ता साना लगानीका उद्योगको संख्या ५ लाख २२ हजार ७ सय ३३ पुगेको छ । एक आर्थिक वर्षमा मात्रै नेपालमा ८३ हजार ३ सय ८६ वटा यस्ता नयाँ उद्योग विभागमा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगको संख्या हालसम्मकै धेरै हो । गत आर्थिक वर्षको मात्रै तथ्यांक हेर्ने हो भने झन्डै ९० हजार नयाँ उद्यमीले यस्तो क्षेत्रमा एक वर्षमा करिब २ खर्ब रुपैयाँ लगानी गरेका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा मुलुकभरका ७७ वटै जिल्ला र ७ वटै प्रदेशका ८९ हजार ९ सय २४ नयाँ उद्यमी यस्तो उद्योगमा लागेका छन् । सो अवधिमा कुल पुँजी १ खर्ब ८५ अर्ब २० करोडभन्दा बढी लगानीमा उनीहरूले आफ्नो सीप र ज्ञानअनुसारको लघु, घरेलु तथा साना उद्यम सुरु गरेका छन् ।

झापा, काठमाडौं, कास्की र कैलालीमा यस्ता उद्यमीहरूको संख्या करिब ३ हजार छन् भने अन्य सबैजसो जिल्लामा २ सयभन्दा बढीको संख्यामा साना उद्यम सुरु भएको विभागको तथ्यांक विवरणमा उल्लेख छ । सो अवधिमा स्थापना भएका उद्यममा ४३ हजार ५ सय ६६ महिला उद्यमी सहभागी छन् भने पुरुष उद्यमीको संख्या ४६ हजार ३ सय ५८ रहेको छ । यस्ता लघु, घरेलु तथा साना उद्योगले ३ लाख ११ हजार ६ सय ९३ जानलाई रोजगारी सिर्जना गर्ने बताइएको छ । जसमा पुरुषको संख्या १ लाख ९३ हजार ४ सय ११ र महिलाको संख्या १ लाख १८ हजार २ सय ८२ रहेको पनि विभागमा दर्ता भएको ती उद्योगीहरूको परियोजनामा उल्लेख छ ।

कोरोना कहरले ठूला उद्योग र अर्थतन्त्रमा असर पारिरहेका बेला उत्पादन, कृषि तथा वन र सेवामूलक क्षेत्रमा लगानीकर्ता आर्कषित भएको पनि विभागको तथ्यांकमा देखिएको छ । आर्थिक वर्षको अन्तिममा देखिएको कोरोनाको पहिलो असरका बाबजुत पनि २०७६÷७७ मा उत्पादनमूलक क्षेत्रमा ५ हजार ६ सय ७९ उद्योग दर्ता भएका थिए । कृषि र वनजन्यमा २२ हजार ९७ उद्योग दर्ता हुँदा सेवामूलक क्षेत्रमा १४ हजार ८ सय ७९ उद्योग भित्रिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा कृषि र वनजन्य उद्योगमा ४८ हजार ८ सय ५२ उद्योग दर्ता भएका छन् । वन र कृषिपछि लगानीकर्ताको आकर्षण पर्यटन तथा अन्य सेवामूलक क्षेत्रमा नै रहेको छ । सो अवधिमा सेवामूलक क्षेत्रमा मात्र १८ हजार २ सय १८ वटा नयाँ उद्योग थपिएका छन् ।

यसैगरी, उत्पादनमूलक क्षेत्रमा ९ हजार ६ सय ७९ र पर्यटनमा ५ हजार ६ सय ९३ वटा उद्योग दर्ता भएका छन् । त्यसैगरी, निर्माण र सूचना प्रविधिमा आधारित उद्योग दर्ता संख्या क्रमशः ८ सय ८६ र ४८ वटा दर्ता हुनेक्रममा खनिजजन्य क्षेत्रको उद्योगतर्फ जम्मा तीनवटा उद्योग र ऊर्जा क्षेत्रमा सातवटा उद्योग मात्र विभागमा दर्ता भएका छन् । सो अवधिमा ठूला उद्योगबाट विस्थापित भएकाहरू पनि ज्ञान सीपमा आधारित आफ्नै उद्यममा लागेको पाइएको विभागले जनाएको छ ।

लामो समय कोरोनाका कारणमूलक लकडाउन र निशेधाज्ञामा परेपछि नेपाल तयारी पोसाक संघका सहसचिव पशुपतिदेव पाण्डेको उद्योगबाट पनि धेरै श्रमिक विस्थापित भए । कोभिडका कारण व्यापारमा मन्दी आएर कामदार कटौतीमा परेका श्रमिकको जागिर छुटे पनि उनीहरूले आफ्नो पेसा भने छाडेनन् । सिलाइ र कटिङ जानेका श्रमिकले जीविकोपार्जनका लागि आफ्नो घर बस्ती र टोलमै स सानो लगानीका लघु उद्यम सुरु गरेको पाएको पाण्डेले बताए । सानो लगानी, जानेको सिप र राम्रो आम्दानी भएका कारण यस्तो उद्यम बढेको उनको भनाइ छ ।

यसैगरी, कोरोना महामारीकाबीच पनि नेपालमा स्वउद्यम फस्टाएको नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले जनाएको छ । महिला उद्यमी र परिवार नै मिलेर पनि राम्रै आम्दानी गर्न सकिने भएपछि यो पेसा र व्यवसायमा आर्कषण निकै राम्रो रहेको महसंघको अनुमान छ ।

कोभिडले ठूला व्यवसाय र उद्योग धराशायी हुँदा सना सीपमूलक व्यवसायले नयाँ प्राण पाएको उनले बताए । ‘सीप र सानो पुँजी भएका मानिस धेरै बढेका छन् । यसअघि देशभरका साना सहर र गाउँ–गाउँमा यस्तो माहोल बनेको छ,’ महासंघले भन्यो । १ लाखदेखि बढीमा जति पनि लगानी गरेर राम्रो आर्जन गर्न सकिने भएकाले यस्ता उद्यममा आकर्षण बढेको महासंघको बुझाइ छ ।

साना र घरेलु उद्योगको विकासले महामारीकै समयमा मुलुकको कुल ग्राहस्थ उत्पादनमा झन्डै ४ प्रतिशतको पुगेको नेपाल उद्योग वाणिज्य महासंघको दाबी छ । केही नयाँ काम गरौं भन्ने युवा हुटहुटी र कोरोनाका कारण प्राप्त अनुकूलता यसको प्रमुख कारण भएको महासंघको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापतिसमेत रहेका भरतराज आचार्यले लकडाउनका कारण प्रभावित भएको ट्रेड र ट्रान्जिट कारण रोकिएको मानिसको आवश्यकताको वस्तु उत्पादनमा लहरै जागेको बताए । ‘कोरोना र लकडाउने हामीलाई लाइफ लाइन र लाइफ स्टाइलमध्ये एकमा बाँच्न र उद्यम गर्न सिकायो, कोरोनाले लाइफस्टाइल व्यवसाय ध्वस्त भयो भने लाइफलाइन अर्थात् जीवन पद्धतिको व्यवसाय र उद्यम फस्टायो,’ आचार्यले भने, ‘कृषि र सेवा क्षेत्रमा धेरै साना व्यवसाय योबेला खुल्नुले यसलाई पुष्टि गर्छ । ‘नेपालमा रोजगारी सिर्जना गर्न र उद्यमशीलता विकास गर्न यो उपयुक्त समय भएको आचार्यको भनाइ छ ।

कोभिडका कारण रेडिमेड कपडाको आयात प्रभावित हुँदा स्वदेशी उत्पादनले निकै राम्रो बजार पाएको नेपाल नेपाल तयारी पोसाक संघले जनाएको छ । समयअनुसारको कपडा उत्पादन गर्ने झन्डै २ सय नयाँ उद्योग यही कोरोना कहरबीच थपिएको संघले जनाएको छ । एउटा कालखण्डमा बजारको मागअनुसार उद्योग खुले पनि यसलाई टिकाउन भने सरकारको योगदान महत्वपूर्ण हुने संघको धारणा छ । नेपालमा नयाँ उद्यम गर्न युवा लहर जागेको बेला उनीहरूलाई टिकाउन सरकारले नीतिगत र संस्थागत सुरक्षात्मक कदम चाल्नुपर्ने सम्बन्धित क्षेत्रका व्यवसायीको माग छ । राजधानीबाट