एमाले महाधिवेशनले दिएको सन्देश

61

० कृष्ण प्रजापति
नेपाल कम्युनिष्ट पार्टी एमाले माक्र्सवादी र माक्र्सवादी लेनिनवादी दुई वटा पार्टी मिलेर २०४८ सालमा स्थापना भएको नयाँ पार्टी हो ।

उक्त पार्टी भन्दा पहिला मसाल, मोटो मशाल, नेपाल मजदुर किसान संगठन, निर्मल लामाको चौथौं महाधिवेशन ग्रुप, चित्रबहादुर केसीको जनमोर्चा नेपाल लगायतका अन्य थुप्रै वामपन्थी पार्टीहरु नेपालमा कायम थियो ।

त्यसो भएतापनि छोटो अवधिमा नेकपा एमालेले राष्टिय पार्टीको छवि भने बनायो । त्यसो भएको कारण कम्युनिष्ट पार्टी भनेपछि हुरुक्क हुने यहाँका मजदुर किसानहरुको आँखा छल्नको लागि त्यो पार्टीले नाम मात्रै भएपनि कम्युनिष्ट पार्टी देखाएर जनतालाई छल्न सफल भएकोले नै हो ।

यति धेरै जनताले विश्वास गरेको पार्टीले पनि आफ्नो छबिलाई भने लामो समयसम्म टिकाउन सकेन ।

जब आफूहरु २०४८ सालमा भएको आम निर्वाचनमा प्रमुख प्रतिपक्षी पार्टीको रुपमा स्थापित भएर नेपाली कांग्रेस जस्तो शक्तिशाली बहुमत प्राप्त पार्टीको विभिन्न खाले कमी कमजोरी माथि सतर्क गराउन सफल भएको थियो, त्यो बेला सम्म उक्त पार्टीको इज्जत पनि त्यति नै अगाडि बढिरहेको थियो । तर २०५१ सालमा जब मध्यावधि निर्वाचन भएर अध्यक्ष मनमोहन अधिकारीको अध्यक्षतामा अल्पमतको सरकार स्थापना भयो । त्यो बेलादेखि भने धमाधम उनीहरुको कमी कमजोरीहरु बढ्दा बढ्दा आज त्यो कमजोरी उत्कर्षमा पुग्ने गरेको छ ।

सरकारमा गएपछि के के न पाइएला भनेर जब नेकपा एमाले स्वात्तै पूँजीवादी सत्तातिर पदार्पण गर्यो । त्यो बेला देखि नै एमाले पार्टी भित्र स्वार्थी प्रबृत्ति हाबी हुन गएको पाइयो । सहाना प्रधान र झलनाथ खनाल पहिलो पल्ट वामपन्थीहरुको तर्फबाट मिलिजुली अन्तरिम सरकारमा सामेल भएर पहिलो पल्ट २०४७ सालमा प्रवेश गरेको थियो । त्यस पछि पनि वाम घटकले विभिन्न समयमा सरकारमा त गयो तर सरकारी कार्यहरु गर्ने बाहेक जनतालाई प्रशिक्षण दिने र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कार्य भने कहिल्यै गरिएन । उनीहरु आफूले भने जस्तै सरकारमा गएर पनि बहुदलीय जनवादको सिद्धान्तलाई राम्ररी अपनाउन सकेनन् ।

बहुदलीय जनवाद स्वर्गीय नेता मदन भण्डारीको सोच हो । जब २०४८ सालमा यो पार्टीले दुई वर्ष भित्र बहुदलीय जनवादको सवाल अगाडि ल्यायो । त्यसपछि झन् झन् बहुदलीय जनवाद पनि पूँजीवादी प्रजातन्त्र वा नेपाली कांग्रेसको नै पदचापमा गएर बिलय हुनपुग्यो । जुन एमालेको दशौं महाधिवेशन भनिएको केपी ओलीको नेतृत्वमा गरिएको पहिलो महाधिवेशनमा पनि स्पष्ट देखियो ।

अन्य जिल्लाहरुमा सबै निकाय र जिल्ला संगठनहरु जम्मै पहिलो अधिवेशन हुने तर केन्द्रीय महाधिवेशन भने दशौं हुने कुन काइदा हो ?

यसरी एमाले पार्टी एकीकृत पनि हुन नसकेको र अहिले माक्र्सवादी र लेनिनवादी बनिरहन नसकेको यो समयमा भएको दशौं महाधिवेशन एउटा कुम्भमेला जस्तो भएको छ । त्यसैले पनि महाधिवेशन स्थलमा सहभागी सबै प्रतिनिधिहरु घाम ताप्ने र हात्ती चढेर सौराहाको जंगलमा गैडा सयर गर्नेमै बढी आकर्षित हुने गरेको पाइयो । चितवन उनीहरुका लागि सही घुम्ने ठाउँ कायम भयो । एक दिन उद्घाटनमा सहभागी भएर एक दुई घण्टा समय दिएपछि नै शतप्रतिशत आफ्नो दायित्व पूरा भएको जस्तो गरेर सो महाधिवेशनको लागि आफूहरुले नयाँ सन्देश दिने र नयाँ नीति कार्यक्रमहरुको बारे छलफलमा भाग लिने कार्य निकै न्यून मात्रै देखापर्यो । बरु होटेलमा रक्सी खाएर नाच्ने, रापती नदीमा दुंगा सयर गर्ने तथा सौराह जंगल घुम्ने काम नै बढी देखा पर्यो । यसो हेर्दा पार्टीको महाधिवेशन केपी ओलीको बिवाह भोज जस्तो देखिएको थियो ।

सैद्धान्तिक र राजनीतिक बहस भन्दा पनि कसलाई कुन पद दिँदा खुसी हुन्छ, कसलाई कता लाग्यो भने आफ्नो बहुँच बढ्ला भन्ने देखि कसलाई के गर्दा चुनाव लड्नै नपर्ने गरी महाधिवेश सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा मात्रै चार दिन बित्यो ।

एमालेको महाधिवेशनमा पदका लागि भिक्षाटनदेखि विभिन्न खालको अस्वस्थ बार्गिनिंग पनि भएको छ । कतिपयलाई राजदूत बनाइदिने आश्वासन दिएर केन्द्रीय सदस्य पदबाट बञ्चित गरिदिएको छ ।

कतिपयलाई सांसद नै नजिते पनि मन्त्री बनाइदिने केपी ओलीको पहिलाको परम्परालाई कायम नै गरी आश्वासन दिएर पनि केन्द्रीय पदाधिकारबाट बञ्चित गरेका छन् । अझ कतिपय ब्यक्तिहरुलाई त रकम नै लेनदेन गरेर पनि केन्द्रीय सदस्य पदबाट हात धुन लगाएको सुन्नमा आएको छ । यसो हेर्ने बखत एमालेको महाधिवेशन पार्टीको तर्फबाट के कस्तो नयाँ नीति र सिद्धान्त पारित गरी लागू गर्ने भनेर जनताको शासन समाजवाद सम्म पुग्ने प्रयास भएको पाइँदैन । बरु कसरी हुन्छ आफूहरु नै सर्वेसर्वा बन्ने सोच राखेको पाइन्छ ।

नेतृत्वको वरिवर्तनका लागि नै अधिवेशन महाधिवेशन हुने हो । तर केन्द्र सम्म पनि सबै सर्वसम्मति भन्दै पंचायती शैलीमा आफ्ना मानिसहरु मात्रै जिताएर लाने रणनीति देखियो । केपी लाइन भनेर स्पष्ट देखा परेको टीमलाई मात्रै जिताउनका लागि महाधिवेशन गराएको देखियो । यसरी भन्दा कुनै फरक नपर्ला कि केपीले पुनः आफ्नो जन्म दिन र विवाहको भोज सौराहामा लगेर ख्वाई दिएको छ । आफ्नै मात्र जयजयकार गराएर राजा रजौताहरुले आफ्नो जन्मदिन मनाउने पाराले अधिवेशन सम्पन्न गरेको छ ।

जनताको कुरा चुइक्क पनि उच्चारण भएको छैन । सिद्धान्तमा परिस्कृत गर्ने तथा जनवादलाई उच्च विन्दुमा पुर्याउने कुरा नै भएको छैन । सके माओ त्सेतुंग भन्दा पनि ठूला नेता हुनका लागि केपीवाद अगाडि ल्याउने तयारी गरेको जस्तो देखिएको छ । त्यसैले पनि यो महाधिवेशनले जनताको लागि रत्तिभर पनि काम गरेको छैन । बहुदलीय जनवादको नाम राखेर पतन सुरु भएको एमालेको कांग्रेस परस्त नीति पनि स्पष्ट देखिएको छ । राप्रपा र नेपाली कांग्रेस जस्तै खिचातानी भने झन झन् बढेको कुरा महाधिवेशन स्थलमा स्पष्ट रुपमा उजागर हुन पुगेको छ ।

भीमबहादुर रागलले पार्टी अध्यक्ष हुने दाउ नछोडेको र अन्य धेरै केन्द्रीय सदस्य बन्ने आकांक्षीहरुका कारण मतदान गर्न बाध्य भएको छ । निर्वाचन गर्ने होइन भन्ने आफ्नो अदान खुस्किएपछि केपी ओली सोझै असफल भएको देखिएको छ ।

होइन भने उनी तानाशाही भएको स्पष्ट नै देखिने भयो । आफूले भने झैं मात्रै पार्टी चलाउँछु भन्ने मानसिकताबाट केपी ओलीले हात धुनु पर्ने अवस्था आएको छ ।

यो भनेको एक हिसाबले आफ्नो पार्टी भित्र देखा परेको समस्यालाई महाधिवेशनबाट निमित्यान्न पार्न सकेको छैन भन्ने सन्देश नै हो ।