पानामा पेपर्स प्रकरणमा मुछिइन् ऐश्वर्या राय

118

भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ ।

भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले पानामा पेपर्स प्रकरणमा  गैरकानुनी ढंगले विदेशमा सम्पत्ती लुकाएको भन्दै ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो ।

चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअघि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो । तर, उनले केही समय माग गरेकी थिइन् ।

पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे) ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो ।

दस्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई सार्वजनिक गरेको थियो । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

आईसीआइजले विश्वका ७६ देशका १०० भन्दा बढी सञ्चार माध्यमहरुमा आबद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर दस्तावेज तयार गरेको थियो ।

विश्वका धनाढ्य एवं शक्तिशालीले कर छल्न के कस्तो हथकन्डा अपनाउछन भन्ने बारेमा पानामा पेपर्सले एतिहासिक खुलासा गरेको थियो ।

आफ्नो सम्पत्ति ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर विश्वका कयौं धनाढ्यले स्वदेशमा कर छली गर्नेदेखि कालो धनलाई सेतो बनाउने गरेको पानामा पेपर्सले खुलासा गरेको थियो ।