महाशिवरात्री अर्थात् शिव तत्त्वको ज्ञान

27

महाशिवरात्री पर्व हामी सामु आइपुगेको छ । शिवरात्री अध्यात्ममा रहेका भक्तहरूले भरपुर ऊर्जा प्राप्त गर्ने पर्व हो । शिव प्रकाश स्वरूप परमात्मा हुनुहुन्छ । रात्री माने अज्ञान हो। अज्ञानलाई हटाएर परम प्रभु प्रकाशको बोध गर्नु नै शिवरात्री हो । तपाई हाम्रो जीवनमा सधैँ नै अज्ञानरुपी अन्धकारमा नै हाम्रो आयुलाई व्यतित गरिरह्यौं भने परम प्रभु परमात्मारुपी भगवान् शिवलाई प्राप्त गर्न सक्दैनौं । तब तपाई हाम्रो जीवन अधुरै रहन्छ । त्यसकारण हाम्रो इष्ट देव आराध्य देव भगवान् शिव हुनुहुन्छ ।

शिवको आराधना गर्नु नै अध्यात्मको मार्गमा अघि बढ्नु हो । अध्यात्म भनेको आत्मा उपासना हो । आत्मा र परमात्माको बोध गर्नु नै अध्यात्म हो । त्यसलाई नै हामी धर्म भन्ने गर्छौं । यो समयमा तपाई हामीलाई धर्मको अति नै आवश्यक छ । जीवनमा सांसारिक कर्म जति पनि हामीले गरेका हुन्छौ । परोपकार, सामाजिक सेवा, दुःखी गरिबको सेवा समाजमा परिआएको खण्डमा सहयोग यो एउटा उपकार हो । यो एउटा धर्मको आचरण हो । धर्मको एउटा पाटो हो ।

तर धर्मको अनुभूति गर्नु र ईश्वरको अनुभूति र आत्माको उद्धारको निम्ति आत्मा र परमात्माको साक्षात्कार गर्नको लागि हामी सबैले आत्मातत्त्वको बोध गर्नु नै पर्छ । आत्मा तत्त्वको बोध भगवान् शिव स्वयंले पनि गर्नु भएको थियो । भगवान् शिव स्वयंले पनि आध्यात्मिक मार्गमा अगाडि बढेर त्यस समयका हाम्रा पूर्वजहरूलाई मार्ग दर्शन गर्नु भएको थियो ।

त्यसैले हामीले सर्वप्रथम प्रार्थना गर्दा के भन्नु पर्छ भने ‘गुरूर ब्रह्मा गुरूर विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरुवे नमः ।’ ब्रह्मा पनि गुरु नै हुनुहुन्थ्यो । विष्णु पनि गुरु नै हुनुहुन्थ्यो । अनि भगवान् शिव पनि गुरु नै हुनुहुन्थ्यो । उहाँहरू स्वयम् साक्षात परब्रह्म परमात्माको उपासना गर्नुहुन्थ्यो । अनि सबैलाई त्यस मार्गमा प्रेरित गर्नुहुन्थ्यो ।

तपाई हामीले सांसारिक बाहिरको उपासना फल प्रसाद जति पनि हामी भगवान्को अघि श्रद्धा भक्तिका साथ चढाउँछौँ । पूजा गर्छौं, दण्डवत् प्रणाम गर्छौं । स्त्रोत्रहरु गाएर खुशी बनाउँछौं । तर जो भगवान् आशुतोष शिवजी महाराजले तत्त्वको उपासना गर्नु हुन्थ्यो, ध्यान गर्नुहुन्थ्यो त्यो अध्यात्ममा अघि बढ्ने प्रेरणाको मूल स्रोत हो । एउटा तपाई हामीले जान्ने पर्ने तत्वज्ञान हो । त्यसलाई चाहिँ हामी जीवनमा प्राप्त गरौँ । यो युगमा तपाई हामीले नै प्राप्त गर्ने हो । तपाई हामीले न गरे आउने पिढीलाई कसरी सिकाउने ?

यो अध्यात्म मार्गलाई अघि बढाउनु नै अन्धकाररुपी जति पनि रात्री छ यसलाई हटाएर प्रकाशको बोध गर्नु हो । जसरी भगवान् शिवको रूप प्रकाश स्वरूप छ । यसकारण त्यसको उपासना चाहिँ भगवान् शिव स्वयमले गर्नुहुन्थ्यो । आफूले मात्र नगरेर प्रचार पनि गर्नु भएको थियो । शिवरात्रीको समय चार पहर पूजा हुन्छ । साथै शिव वन्दना पनि हुन्छ ।
‘ब्रह्म मुरारी सुररचिता लिंगम,
निर्मला भाषिता शोभिता लिंगम,
जनमज दुक्ख विनाशक लिंगम,
तत प्रणमामि सदाशिव लिंगम ।’

यो भन्नुको अर्थ परमात्मा ज्योति स्वरूप हुनुहुन्छ । ज्योतिर लिङ्ग भनेर बताएको छ । ज्योतिर लिङ्ग तपाई हाम्रो आत्मामा निवास गर्नुभएको छ । अत्यन्तै प्रकाश रूपमा छ । गर्नु अति नै सजिलो छ । निरन्तर ध्यान उपासना गर्न सकिन्छ । शुरुआत हामीले भगवान् शिवको पावन चरण कमलबाट प्रेरणा लिएर आफ्नै अन्तर आत्माबाट शुरु गर्न जरुरी छ । अध्यात्मको शुरु ध्यानबाट हुन्छ । त्यो ध्यानलाई प्राप्त गर्नको लागि हामीलाई भगवान् शिव जस्तो गुरु चाहिन्छ । त्यसैले समयका तत्वदर्शी सद्गुरुको खोजी गर्नुपर्छ । आज पनि यस धर्तीमा त्यस्तो तत्वदर्शी सद्गुरु पाइन्छ ।

समयका तत्वदर्शी सद्गुरुबाट यस शिव तत्त्वलाई प्राप्त गरेर आफू उपासना गर्दै सफल जीवन जिउनु पर्छ । मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पोशाक भनेको धर्म हो अध्यात्म हो । तपाई हामी अध्यात्मवादी बन्नको लागि ज्ञान लिएर आत्माबाटै शुरुआत गरौँ र ज्योति स्वरूपमा नै मनलाई एकाग्र प्रभुको उपासना गरौँ । जसलाई भगवान् शिवले पनि त्यस नामको स्मरण गर्नुहुन्थ्यो ।

भगवान् शिव ध्यानमा सधैँ बस्नुहुन्छ । भक्तहरू आ–आफ्नो समस्या लिएर, आशीर्वाद माग्न, दर्शन गर्न जान्थे । वहाँ ध्यानमा मग्न रहनुहुन्थ्यो । भक्तहरू भोले बाबाको जयकार लगाएपछि साधनबाट उठ्नु हुन्थ्यो । अनि समस्याबारे सोध्नुहुन्थ्यो र भक्तहरूको समस्या पूर्ण रूपले हल गर्दिनुहुन्थ्यो । साथै आफ्ना पति परशमेश्वले ध्यान गरेको देखेर माता पार्वतीले भगवान् शिवसँग प्रश्न गर्नु भएको थियो । सो समय माता पार्वतीले स्वामी हजुर कसको ध्यान गर्नुहुन्छ भनेर सोध्नु भएको थियो । भगवान् शिवजीले म आफ्नै स्वरूपको ध्यान गर्छु भनेर भन्नुभयो ।

उहाँको वास्तविक स्वरूप चाहिँ के थियो भन्दा प्रकाशमान ज्योतिर लिङ्ग हो । जसको शुरु र अन्त्य ब्रह्मा र विष्णुले पनि लगाउन सक्नु भएन भन्ने कुरा शास्त्रहरूमा पढ्न पाइन्छ । त्यो ज्योतिर्लिङ्ग कस्तो थियो त ।

भगवान् शिव माता पार्वतीलाई सम्झाउँदै भन्नुहुन्छ –ंउमा कहउँ मैं अनुभव अपना। सत हरि भजनु जगत् सब सपना॥’

म त्यो हरीको भजन गर्छु । हरीको रूप प्रकाश हो । जसको ध्यान गर्दा समाविष्ट हुँदा सम्पूर्ण दुख हरण भएकाले गर्दा त्यो तत्त्वको नाम हरि राख्नु भएको थियो प्रभुले ।

‘महामंत्र जोइ जपत महेसू। कासीं मुकुति हेतु उपदेसू॥’
महामन्त्र अव्यक्त प्रभुको नामको ध्यान गर्नुहुन्थ्यो । त्यो नाम शिव आफ्नै थियो । तर गुणवाचक नाम होइन परावाणिको विषय थियो । आत्मामा रमण गरिरहने ‘रमन्ती नाम योगिनम’ भनेर रामायणको श्लोकहरू पनि हामी गाउने गर्छौँ। हर प्राणीको हर योगीहरूको हृदयमा त्यो नाम, त्यो स्पन्दन रमण गरिरहेको छ । त्यो थियो वहाँको वास्तविक नाम । त्यो नाम सबै प्राणीको श्वासमा रमण गरिरहेको छ । जब त्यो रमणको यात्रा सम्पन्न हुन्छ प्राणीको मृत्यु हुन्छ ।

भगवान् शिवले त्यो नाममा आफू मात्र रमण नगरेर काशीमा गएर लाखौँ भक्तहरूलाई त्यो ध्यानको विधि बताउनु भएको थियो । जब माता पार्वती भगवान् शिवको शरणगत हुनुभयो तब माता पार्वतीलाई पनि त्यो ध्यानको विधि सिकाउनुभयो ।

हामी पनि वहाँका भक्त हौँ । अन्तरजगतको ज्योतिर लिङ्ग शिव लिङ्ग जुन विराजमान हुनुहुन्छ । जुन आत्मारूपी ज्योतिर लिङ्ग हुनुहुन्छ । अमृत रुपी जल निरन्तर चढाऔँ । अनि वहाँको परावाणीको मन्त्रको निरन्तर उपासना गरौँ । परमज्योति परमात्मा रुपी प्रकाश रुपी भगवान् शिवको बोध गरौँ । यो नै अध्यात्म मार्ग हो । यो नै आत्माको बोध हो । र हर मनुष्यले यसलाई पाउने अधिकार राख्दछ । समयलाई नगुमाई यही शिवरात्रीको दिन अन्धकार रुपी रात्रीलाई हटाएर शिव रुपी ज्योति परमात्मालाई प्राप्त गरौँ ।हाम्राकुराबाट