भलिबलमा चितवनलाई दोहोरो उपाधि

33

काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले जितेको छ । चितवन पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो । बागमती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५-२, २५-२१ र २५-१९ को सोझो सेटमा पराजित गर्‍यो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी घोषित हुनुभयो । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेण्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बन्नुभयो । उत्कृष्ट चारै चितवनका हुनुहुन्छ ।

महिलाको उपाधि भिडन्तमा चितवनले रामेछापलाई सिधा सेटमा २५-१३, २५-१८ र २५-११ ले हरायो । चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बन्नुभयो । स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोस्ना महतो, डिफेण्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिनुभयो ।

विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।