मेयर धनगढी प्याब्सन कपको उपाधि स्टेपिङलाई

34

धनगढी । मेयर धनगढी प्याब्सन कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले एक लाख एक हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो । १३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । उसका शैलेश केसीले ४६ रन बनाएर आउट हुनुभयो । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाउनुभयो । बलिङतर्फ स्टेपिङका आर्यन दानपालीले ३.२ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिनुभयो । अभिषेक खड्काले २ र भुपेश जोशीले १ विकेट लिनुभयो ।

त्यसअघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा ४ चौकार र ४ छक्काको मद्धतले ६१ रनको अर्धशतकीय पारी खेल्नुभयो । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाउनुभयो । बलिङतर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान १-१ विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच स्टेपिङका आर्यन दानपाली चुनिनुभयो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह हुनुभयो । उहाँले नगद १० हजारसहित ट्रफी, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिष्टोका किरण देउवा हुनुभयो । उहाँहरूले नगद पाँच-पाँच हजार प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, वडा नम्बर ८ का अध्यक्ष नारायण बराललगायतले पुरस्कार वितरण गर्नुभयो । प्याब्सन धनगढीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।