‘पुष्पा २’ लाई चारसय करोडको अफर

15

मुम्बई । साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा राम्रो कलेक्सन गर्‍यो । तेलुगु, तामिल, कन्नड, मलयालम र हिन्दी भाषामा रिलिज भएको चलचित्रले हलमा मात्र नभई ओटीटी रिलिजमा पनि यसले राम्रो कलेक्सन गरेको थियो । यसैले गर्दा पनि यसको दोस्रो पार्टको चर्चा बढ्दो छ । बाहुबली, केजीएफपछि पुष्पाको दोस्रो भागको प्रतीक्षामा दर्शक छन् ।

चलचित्रको क्रेजलाई मध्यनजर गर्दै एक कम्पनीले चार सय करोडको अफर गरेको छ । अल्लु अर्जुनका पिता निर्माता अल्लु अरविन्दलाई पुष्पा-२ को हल राइट्सका लागि चार सय करोडको अफर गरिएको हो । यो अफरमा ओटिटी र स्याटेलाइट राइट्स नजोडिएको बताइएको छ ।

पुष्पाको पहिलो भागले राम्रो कमाइ गरेपछि दोस्रो भागलाई लिएर दर्शकमा निकै उत्साह छ । यद्यपी अल्लु अरविन्दले चलचित्रको राइट्स बेच्न नकार्नु भएको छ । उहाँले चलचित्रको हाइप बढ्दो रहेको भन्दै दोस्रो भागलाई पनि पुरानै टिमले रिलिज गर्ने बताउनुभयो ।