

काठमाडौं । नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।
“हरियो बत्ती बलिसकेको हुन्छ, बस, ट्रक र कन्टेनरलगायतका अग्ला सवारी चलेका हुँदैनन् तर पनि पछाडि रहेकालाई हतार भइसकेको हुन्छ,” उनले भने, “यस्तो बेला दुर्घटना र जामको समस्या हुन्छ । टाढैबाट देखिने गरी बत्ती राख्ने विषयमा छलफल भइरहेको छ ।” ट्राफिक प्रहरी महाशाखाको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनका क्रममा पनि ट्राफिक बत्तीको उचाइ नौदेखि २० फिटसम्म रहेको पाइएको छ । सडकको प्रकृतिअनुसार बत्ती राखेको अवस्था देखिँदैन । कहीँ छड्के तथा बाङ्गा छन् ।
महाशाखा प्रमुख जोशीका अनुसार फरक क्षमता भएका (अपाङ्गता भएका) व्यक्ति, विद्यार्थी तथा बालबालिका र अशक्त नागरिकमैत्री सडक तथा ट्राफिक बत्तीको व्यवस्था हुन सकेको छैन । रातो, हरियो र नीलो तीन किसिमका बत्ती अनुसार सडक मार्ग गरिएको छैन ।
सडक विभागले सडकको प्रकृतिअनुसार मुख्य राजमार्ग (हाइवे), सहायकमार्ग (स्थानीय) र भित्री (सिटी) मार्गमा छुट्टाछुट्टै किसिमको मापदण्ड तयार पारी ट्राफिक बत्ती र मार्किङको तयारी गरेको छ । विकसित मुलुकले सडकको मापदण्डअनुरूप ट्राफिक बत्ती राख्ने गरेको पाइएको छ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार नेपालमा मापदण्डअनुरूप बत्ती राख्ने सम्बन्धमा छलफल सुरु भएको छ ।
कतिपय मुलुकमा ट्राफिक बत्तीको उचाइ तीन फिटदेखि ३० फिटसम्म रहेको पाइएको छ । गोरखापत्र दैनिकबाट