६ जना शिक्षक शिक्षिकाहरु सम्मानित

21

भक्तपुर । सेवा निवृत समाज भक्तपुरको अर्धवार्षिक बुलेटिन शैक्षिक अनुभबको नयाँं अंक १० विमोचन गरिएको छ । सेवा निबृत शिक्षक समाज भक्तपुरद्धारा प्रकाशित बुलेटिनको संघीय सांसद सुरेन्द्रराज गोसाईले विमोचन गरे ।
कार्यक्रममा सेवा निबृत भएका भक्तपुरका ६ जना शिक्षकशिक्षिकाहरु सम्मान पनि गरियो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । उनीहरुलाई दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।
सम्मानित हुने सेवा निबृत शिक्षकहरुमा चन्द्रबहादुर गोसाई, सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति र शिवकुमार कर्माचार्य रहेका छन् । उनीहरुलाई अध्यक्ष गोसाईले सम्मान गरेका हुन् ।
कार्यक्रममा गोसाईले शिक्षकलाई सम्मान नहुने समाजलाई उत्कृष्ट समाज भन्न नसकिने बताए । नेपाल सरकारले गर्नुपर्ने काम समाजले गरेको भन्दै उनले आयोजकप्रति आभार प्रकट गरे ।
आयोजक समाजका अध्यक्ष अम्विकामान मानन्धर, सचिव शेरबहादुर ङाखुसी, कोषाध्यक्ष विश्वराम कवां, संयुक्त परीषा समिति भक्तपुरका गणेशराम थुसा, सम्मानितहरुकोतर्फबाट सरोजकुमार दत, सदस्य रत्नकेशरी कक्षपतिलगायतले २०७३ साल असार ९ गते स्थापित समाजमा हालसम्म जिल्लाका दुई सय २० जना सेवा निबृत शिक्षकहरु सदस्य रहिसकेको बताए । साथै समयसमयमा गरी समाजले ५० जना सेवा निबृत शिक्षकशिक्षिकाहरुलाई सम्मान गरिसकेको उनले बताए ।
कार्यक्रममा बुलेटिनका सम्पादक ज्ञानसागर प्रजापतिले बुलेटिनमा भएका विभिन्न लेखरचनाहरुबारे चर्चा गरे । पुस्तक एक सय ३० पृष्ठको रहेको छ । बुलेटिनमा सेवा निबृत शिक्षकहरुको अनुभब समेटिएका छन् । हामी अझै पनि सवल हौ भन्ने नाराका साथ समाज स्थापना गरिएको थियो ।