आज चैते दशैँ, देवीको पूजा उपासना गरी मनाइँदै

26

काठमाडौं । आज चैते दशैँ, देवीको पूजा उपासना गरी मनाइँदै छ । आज घरघरमा तथा देवीका मठ मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको बताइन्छ ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैँलाई बडादशैँको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दशैँलाई चैते दशैँ भनिन्छ ।

आज काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी, बागलुङको बागलुङकालिका लगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । चैते दशैँलाई कतिपय ठाउँमा सानो दशैँ भन्ने चलन पनि छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलनसमेत छ ।

हिन्दू धर्मालम्वीहरूले आज चैते दशैँ मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गर्दछन् । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।