वायु प्रदूषणः भारतका ८ ठूला सहरमा १ लाख मानिसको मृत्यु

25

काठमाडौं । भारतका आठ ठूला सहरमा वायु प्रदूषका कारण १३ वर्षको अवधिमा १ लाखभन्दा बढी मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २००५ देखि २०१८ को बीचमा मुम्बई, बेंगलुरु, कोलकाता, हैदरावाद, चेन्नई, सूरत, पूणे र अहमदावाद सहरमा उक्त संख्यामा मृत्यु भएको एक अध्ययनले देखाएको हो।

साइन्स एडभान्स्डमा प्रकाशित अध्ययनका अनुसार बेंगलुरु, हैदरावाद, कोलकाता र पूणेमा प्रति एक लाख जनसंख्यामा असामयिक मृत्युको दर सबैभन्दा बढी पाइएको थियो। यही सहरमा मृत्युदर क्रमशः ९३.९, ९६.४, ८२.१ र ७३.६ रहेको थियो।

मुम्बई, सूरत, चेन्नई र अहमदावादमा भने प्रति एक लाख जनसंख्यामा मृत्युदर ६५.५, ५८.४ र ४७.७ पाइएको थियो। यद्यपि विश्व स्वास्थ्य संगठनको विश्वको सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा सामेल नयाँदिल्ली, नोएडा र फरीदावाद सहरमा बारेमा उक्त अध्ययनमा केही उल्लेख गरिएको छैन।

अध्ययनका प्रमुख लेखक एवं युनिभर्सिटी अफ कलेज लण्डनका रिसर्च फेलो कर्ण बोहराले विश्वभर हरेक वर्ष वायु प्रदुषण बढिरहेको बताए। उनले भने, ‘हामीले ट्रपिकल क्षेत्रमा तीव्र रुपमा वृद्धि भइरहेको यस्ता सहरलाई मूल्यांकन गर्न चाहन्थ्यौं, जुन सन् २१०० सम्म मेगासिटीमा परिवर्तन हुने अनुमान छ र तिनमा ८ सहर भारतमा छन्।’ अनुसन्धानकर्ताहरुले वायु प्रदूषणसम्बन्धी तथ्यांक संकलन गर्न नासा र युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोग लिएका थिए।

ट्रपिकल क्षेत्रमा नाइट्रोजन डाइअक्साइड (एनओ २) मा १४ प्रतिशतसम्म र सुक्ष्म कण पार्टीकुलेट म्याटर अर्थात् पिएम २.८० मा ८ प्रतिशतसम्म, एमोनियामा १२ प्रतिशत र प्रतिक्रियाशील वाष्पशील कार्बनिक यौगिकमा ११ प्रतिशतसम्म वृद्धि भएको पाइएको छ। यो कैयौं रोग र असामयिक मृत्युको कारण बन्न सक्ने बताइन्छ।

अध्ययनका अनुसार यो क्षेत्रमा पर्ने ४६ मध्ये ४० सहरमा नाइट्रोजन डाइअक्साइडको एक्सपोजर १.५ बाट बढेर ४ अंकसम्म पुगेको छ। जबकि ४६ मध्ये ३३ सहरमा पिएम २.५ का लागि एक्सपोजर बढेको छ।

यहीकारण वायु प्रदूषणको संयुक्त असर बढेको र सडक यातायात, फोहोर जलाउँदा, कोइला र इन्धनको रुपमा दाउराको प्रयोगका कारण वायुको गुणस्तरमा पनि ह्रास आएको पाइएको छ।