निर्वाचनको परिणाम आउँदै गर्दा

22

देशभर गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । कुनै कुनै स्थानहरुमा स्थगीत भएपनि एकै दिन निर्वाचन सफल भएको छ । यति सजिलै प्रजातान्त्रिक अधिकार प्रयोग गर्न पाउनु भनेको एक हिसाबले जनताको अधिकार प्राप्तिको कुरा गर्ने हो भने एकजना सैनिकको गोली चलेको भन्दा पनि उच्च तहको काम हो । एकजना सैनिकले गोली हानेको खण्डमा एक जना दुश्मन वा अर्को पक्षको एकजना मानिस पराजित हुने वा मृत्युको शिकार हुने गर्दछ । तर जनताले चाहेको चिन्हमा मतदान गर्न सक्यो भने सो बन्दूकको गोलीको शक्ति भन्दा पनि त्यो महत्वपूर्ण मान्ने गरिन्छ । संसारभर नै बाकसमा खसालेको मत भनेको बन्दूकबाट छुटेको गोली भन्दा पनि शक्तिशाली मानिन्छ । त्यसैले पनि बुलेट भन्दा बालेट महत्वपूर्ण हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले यो पाली जनताले पुनः एक पल्ट आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गरी आम जनताले चाहे अनुसारको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र वडा सदस्यहरुको छनौट जस्तो महत्वपूर्ण कार्य सम्पन्न गर्यो ।
राणा शासन चलिरहेको बखत हामी कहाँ आफ्नो प्रतिनिधिहरु आफै छनौट गर्न पाउँदैनथे । राजालाई समेत बन्धनमा पारेर त्यो बेला राणा शासकहरुले पारिवारिक रुपमा प्रधानमन्त्री र अन्य मन्त्रीहरुको छनौट गर्ने गर्दथे । त्यसैले पनि त्यो बेलाको शासन ब्यवस्थालाई हुकुमी शासन भन्थ्यो । राणाहरुको मुखबाट जो हुकुम हुन्थ्यो, त्यसलाई कानून सरह अनिवार्य रुपमा पालना गरेको हुनु पर्दथ्यो । नभए मृत्यु दण्डसम्मको सजायँ हुन्थ्यो । तर त्यो बेला पनि बेला बखत प्रजातन्त्रका पक्षपातीहरुले भने आफ्नो आवाज बुलन्द गर्न छाडेनन् । राणा बिरोधी आन्दोलनमा सक्रिय भएका दलहरु प्रजा परिषद, नेपाली राष्टिय कांग्रेस पछि मात्रै नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । त्यो बेला नेपाली कांग्रेसको कार्यालय भित्रै काम गरी बस्नु हुने भारतमा प्रवासी जीवन विताइरहन बाध्य भएका राणा प्रधानमन्त्रीले मृत्यु दण्ड दिएका गंगालाल श्रेष्ठको सहोदर भाई पुष्पलाल श्रेष्ठले भारतमा प्रबासी रहेकै बखत उतै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी आफू त्यस पार्टीको महासचिव बनी काम गर्न सुरु गरेको थियो ।
प्रजातन्त्र भनेको कस्तो हुन्छ, के हुन्छ भन्ने कुरा साधारण जनतालाई थाहा थिएन । भारत लगायतका विदेशमा गएर पढ्न गएका विद्यार्थीहरुले नै प्रजातान्त्रिक अभ्यास थालेको देखिन्छ । सुरुमा बेतिया, बनारस, दरभंगा लगायतका स्थानहरुमा बस्ने प्रबासी नेपाली विद्यार्थीहरुले नै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको थियो । नेपालमा पार्टी खोल्ने र प्रजातान्त्रिक आन्दोलनको अभ्यास गर्न सम्भव थिएन । त्यसैले पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतमा भएको हो । प्रजा परिषद एउटा भने गोप्य रुपमा नेपाल मै जन्मेको पार्टी थियो । जुन राणा विरोधी आन्दोलन सफल भएसंगै निकम्बा जस्तै भएर बेपत्ता झैं हुन पुग्यो । यो भनेको जहाँ आवश्यकता रहन्छ, त्यहाँ उत्पत्ति हुन्छ भने झैं हो । हुन पनि आवश्यकता नै आविस्कारको जननी हो । राणा शासन पतन गर्न हतार भएको बेला कुनै एक राजनीतिक शक्ति आवश्यक भएको बखत नेपालमा प्रजा परिषद नाम राखेर राणा बिरोधी गतिविधि सुरु भयो । त्यो सही र राम्रो सुरुवात थियो । यो पहिलो पल्ट राणा विरोधी प्रजातान्त्रिक अभ्यास थियो । कुनै कुनै चीज भनेको दीर्घकालीन रुपमा अगाडि बढ्न नसकेपनि त्यसले निकै धेरै फाइदा पुर्याउने रहेछ । बिक्रम संवत १९९७ सालमा प्रजा परिषदमा लागेका युवाहरुलाई पक्राऊ गरी क्रुर राणा शासकहरुले मृत्यु दण्ड दिए । तैपनि प्रजातान्त्रिक आन्दोलनले भने बिश्राम लिएन ।
प्रजा परिषदको उक्त मार्ग नेपाली कांग्रेस जस्तो सक्रिय दल र नेपाल कम्युनिष्ट पार्टीको उपस्थितिले त्यतिकै अगाडि बढ्न थाल्यो । त्यसपछि भने राणाहरु एकै पल्ट छोडेर नगैकन मोहन शमशेरको अध्यक्षतामा नयाँ मन्त्रीमण्डल बनाएर आन्दोलनकारीहरुको संलग्नतामा सरकार गठन भयो । यसैगरी दश वर्ष सम्म सरकार फेरबदल भइरह्यो । प्रजातान्त्रिक सरकारले पहिलो पल्ट २०१५ सालमा आम निर्वाचन गराएको थियो । जसमा नेपाली कांग्रेसले जितेर बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको एकमना सरकार गठन भयो । आज जस्तो स्थानीय निकायको निर्वाचन मार्फत नभै जिल्ला जिल्लाबाट केन्द्रमा प्रतिनिधि पठाएर राजनीतिक पार्टीहरुले निर्वाचन जितेर आइकन आफ्नो प्रतिनिधिलाई सरकारमा पठाउने परिपाति थियो । यो पहिलो प्रजातान्त्रिक अभ्यास थियो । नेपालको पहिलो सदन थियो । तर २०१७ सालको पौष १ गते राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी निरंकूश पंचायती शासन ब्यवस्था लागू गर्न पुग्यो । यो सारा नेपाली जनताको आन्दोलन र योगदानको अपमान गरेको दिन थियो ।
१०४ वर्ष लामो राणा शासन पतन गरी अगाडि देखा परेको प्रजातन्त्र दश वर्ष पछि २०१७ सालमा पतन भयो । राजा महेन्द्रले पंचायती ब्यवस्था लागू गरे । त्यो समयमा थुप्रै राजनीतिक पार्टीका नेताहरु जेल परे । कयौं नेताहरु प्रबासी जीवन बिताउन बाध्य भयो । यही बखत देश भित्र रहेकाले संगठन बिस्तार गर्ने मौका मिल्यो । ठाउँ ठाउँमा संगठन बिस्तार गरी पार्टीलाई अगाडि बढाए । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी त्यो बेला नै फल्ने फुल्ने मौका मिल्यो । प्रजा परिषद हरायो । तर त्यस दलले गरेको कार्यहरुको अनुकरण गरी स्थापना भएको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको सातवटा घटकले पुनः तीस वर्ष पछि २०४६ सालमा राणाहरु पाले जस्तै पंचायती ब्यवस्था फाल्नको लागि एकजुट भएर लागे । जनआन्दोलनको बलले पंचायती ब्यवस्थाको पतन र प्रजातान्त्रिक शासन पद्धतिको स्थापना भयो । २०४६ साल चैत २६ गते निरंकूश पंचायती ब्यवस्था अन्त्य भएर प्रजातान्त्रिक पद्धतिको पुनः स्थापना भयो ।
राजा सर्वेसर्वा भैरहेको बखत संवैधानिक राजतन्त्र कायम भयो । राजाले पनि कानून पालना गर्नु पर्ने अवस्था कायम भयो । तर मौका मिलेपछि कुनै पनि जनताको सेवा भावना नभएका राजा ज्ञानेन्द्रले आफ्नो हातमा सक्रिय राजतन्त्रलाई फर्काइयो । त्यसले गर्दा उनलाई पतन गरेर पुनः प्रजातान्त्रिक शासन पद्धतिको माग अगाडि सारियो । देशमा गणतन्त्र ल्याउनु पर्ने माग अगाडि बढ्यो । जुन २०६३ साल जेठ १५ गतेको संसदको पहिलो बैठकले प्राप्त गर्यो । अबको दश दिन पछि हामी देशमा पन्ध्र्रांै गणतन्त्र दिवस मनाउन गइरहेका छाँैं । यसरी प्रजातन्त्रको एक महत्वपूर्ण पक्ष जनताले आफूले चाहेको ब्यक्तिलाई आफै रोज्ने हो । आफै शासक रोज्ने यो महत्वपूर्ण पद्धति भने पश्चिमी शैलीको शासन पद्धति हो । त्यसो भएर पनि पुरानो सामन्ती शासन पद्धति भन्दा यो विकसित शासन पद्धति भएकाले नेपाली जनताले यसलाई रोजेको हो । हामीकहाँ २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएपछि २०४८ सालमा पहिलो संसदको निर्वाचन सम्पन्न भयो । त्यो बेला २०५ निर्वाचन क्षेत्र बनाएर आम चुनाव भएको थियो । त्यो भन्दा अगाडि भने २०३६ साल पछि देशमा पंचायती शासन ब्यवस्थाले नै राष्टिय पंचायतको सदस्य निर्वाचन गराएको थियो ।
यसरी विभिन्न निर्वाचनहरुमा जित्ने जनप्रतिनिधिहरुले खाली आफ्नो मात्रै स्वार्थ हेर्याे भन्ने थुप्रै जनताको गुणासो छ । त्यसलाई ध्यानमा राखी सार्वजनिक पद धारणा गरेका ब्यक्तिहरुले देश र जनताको सेवामा नै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने बाचा गरोस् भन्ने कामना गर्दछौं ।
० कृष्ण प्रजापति