टेलिकमको जागीर छोडेका बाबुराजा महर्जन महालक्ष्मी नगरपालिका ७ को वडाध्यक्ष निर्वाचित

53

ललितपुर । नेपाल टेलिकमको सातौं तहको प्रशासन अधिकृत जागीर छोडेर महालक्ष्मी नगरपालिका—७ को अध्यक्षमा उठेका बाबुराजा महर्जन सो पदमा निर्वाचित भएका छन् । नेपाल टेलिकम धेरै सुविधा पाउने सरकारी संस्थानको रुपमा चिनिन्छ र त्यहाँ जागीर भएकाहरुले प्रायः जागीर छोड्दैनन ।
गठवन्धनको तर्फबाट उम्मेदवार बनेका महर्जनले आफ्ना प्रतिष्पर्धि नेकपा एकिकृत समाजवादीका उम्मेदवार भरत थापाभन्दा १८५ मत बढी अर्थात ८८४ मत ल्याएर वडाअध्यक्ष बनेका हुन ।वडाध्यक्ष महर्जनसहित सदस्य विकेन्द्र वानियाँ, विराट सिलवाल र पुर्णलक्ष्मी लोहला निवार्चित भएका थिए भने दलित महिला सदस्य रमा रम्तेल निवर्विरोध भएकी थिईन् ।
तत्कालिन टिकाथली गाविस—७ चाँगाथली (हाल महालक्ष्मी नगरपालिका—७) को विकासको लागि महर्जन २०५५ सालदेखि नै सकृय थिए ।आफ्नो वडाको गोरेटो बाटो चौडा गर्नेदेखि ढल तथा फोहोर व्यवस्थापनमा समेत महर्जन सकृय थिए ।
चाँगाथलीका स्थानीय युवा र किशोर किशोरीलाई समेटेर चाँगाथली युवा क्लव स्थापना गर्नेदेखि चाँगाथलीमा भूमिगत खानेपानी बोरिङ्ग गरि ओभरहेड ट्यांकीमार्फत सो वडाको खानेपानी समस्या समाधान गरेका थिए ।
बौद्ध धर्मावलम्वीहरुको वाहुल्यता रहेको सो ठाउँमा महर्जनकै पहलमा स्थानीय टिकामाया महर्जनले दान दिएको ११ आना जग्गामा २०७१ सालमा करीव ९३ लाख रुपैयाँको लागतमा चाँगाथली बुद्ध विहारको स्थापना गरिएको थियो ।
नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्षको रुपमा तीन कार्यकाल बिताएका महर्जन नेपाल जुडो संघको केन्द्रीय उपाध्यक्षका साथै चाँगाथली क्लव, रोटरी क्लव अफ पाटन वेस्ट, अन्तर संस्थान खेलकूद संघ, चाँगाथली बुद्ध विहार, चाँगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिलगायत विभिन्न सामाजिक संघसंस्थामा पदाधिकारी भएर काम गरिसकेका थिए ।