नेपाल इन्जिनियरिङ कलेजको ठगी मुद्दामा लम्बोदर न्यौपानेलगायत ६ जनालाई सफाइ

139

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजमा करोडौं रुपैयाँ ठगी गरेको अभियोग लागेका लम्बोदरकुमार न्यौपानेलगायत ६ जनालाई भक्तपुर जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले ६ जनालाई नै सफाइ दिने फैसला गरेका हुन् । उनीहरु विरुद्द लागेको ठगी आरोप पुष्टी हुन नसकेपछि सफाई पाएका हुन् ।
नेपाल इन्जिनियरिङ कलेजमा संचालकहरुलाई नै छिर्न नदिदै कब्जा गरी बसेका प्राचार्य हरिकृष्ण श्रेष्ठको जाहेरीमाथि अनुसन्धान गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको प्रतिवेदनका आधारमा कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित ६ जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा २०७७ पुस २८ मा ठगी तथा किर्ते मुद्दा दर्ता भएको थियो ।
प्रहरीले न्यौपानेसहित नेपाल इन्जिनियरिङ कलेजका पूर्व लेखा नियन्त्रक रामकुमार श्रेष्ठ र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाका सहायक प्रशासक चोलाकान्त च्वाईंलाई पक्राउ गरेर पेस गरेको थियो ।
संस्थापकमध्येका सूर्यबहादुर केसीको मृत्यु भइसकेकाले उनलाई फौजदारी कारबाहीका लागि प्रतिवादी नबनाएको भए पनि सरकारी वकिलको कार्यालयले उनले हिनामिना गरेको रकम उनको नामको सम्पत्ति वा बैंक ब्यालेन्सबाट असुल उपर गर्न माग गरेको थियो ।

भक्तपुर जिल्ला अदालत स्रोतका अनुसार न्यायाधीश कोइरालाले ‘बिगोको रकम यकिन नभएको, ठगी भनिएको रकम बेरुजु देखिएको र उक्त बेरुजु रकम असुलको क्रममा रहेको देखिएको, कलेजको विवादबारे उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदन विचाराधीन अवस्थामा देखिएको’ जस्ता कारणले उनीहरूलाई सफाइ दिने राय लेखेका छन् ।

नेक ७ जना लगानी कर्ता मिलेर नेपालमा नै पहिलो इन्जिनियरिङ कलेजका रुपमा स्थापना भएको थियो ।