ट्रिटनका विद्यार्थीद्वारा घरपालुवा जनावरको प्रतिकृतिको प्रदर्शनी

150

काठमाण्डौं । तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले कितावमा पढेका घरपालुवा जनावरहरुका वारेमा चित्र बनाएर उनीहरुको विशेषता झल्किने गरि प्रदर्शनी गरेका छन् । साथै उनीहरुले परम्परागत घरेलु सामाग्रीहरुको पनि प्रर्दशनी गरेका छन् ।
विश्वव्यापी महामारी कोभिड—१९ संक्रमणको २ वर्षपछि पुनः आयोजना गरिएको सो प्रदर्शनीमा स्कुलका साना विद्यार्थीहरुले घरपालुवा जनावरहरु कुखुरा, हाँस, खरायो, विरालो, गाई, भैंसी, बाख्रा, भेडा, च्यांग्रा र उनीहरुको आहार र बस्ने ठाउँ लगायतका बारेमा बताएका थिए । साथै ढिकी, जाँतो, डोको, डालो, नाम्लो, हँसिया, कुटो, कोदालो लगायतका परम्परागत घरेलु सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको थियो ।
त्यतिमात्रै नभई विद्यार्थीहरुले वातावरण मैत्री भाँडाहरु दुना टपरी समेत बनाएर प्रदर्शनी हेर्न आएका अभिभावक र अरु स्कुलका शिक्षक र विद्यार्थीहरुलाई देखाएका थिए ।
शहरका विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई व्यवहारिक रुपमा परम्परागत घरेलु औजारहरुबारे जानकारी गराउन शिक्षकहरुको सहयोगमा विद्यार्थीलाई सहभागी गराई हरेक वर्ष यस्ता प्रदर्शनी आयोजना गरिएको विद्यालयका संयोजक चक्रकुमार श्रेष्ठले बताए ।
प्रदर्शनीको अर्काेतिर विद्यालयमा सिकेको पाक शिक्षालाई व्यवहारमा उतार्दै विद्यार्थीहरुले खीर पकाएर अभिभावकहरुलाई खुवाईरहेका थिए । कितावी शिक्षा मात्रै नभई विद्यार्थीहरु आफैंले घरमा खानेकुरा पकाएर खान सिकुन भनेर उनीहरुलाई पाककला सिकाउने गरेको विद्यालयकी निर्देशक ममता शाहले बताइन् । विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांग तथा अतिरिक्त कृयाकलाप संयोजक शिव गैरेको समन्वयमा विद्यार्थीहरुले विद्यालय हातामा परालले छाएको गोठ बनाएर प्रर्दशनीलाई आर्कषक बनाएका थिए ।