पाँच हजारको पुरस्कार रकममा १३ हजार थपेर महेन्द्र शान्तिका विद्यार्थीलाई ६० वटा स्विटर वितरण

17

भक्तपुर । शिक्षासेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीले महेन्द्र शान्ति मावि बालकोटका पुर्व प्राथमिक तहका ६० जना विद्यार्थीलाई दशैंको अवसर पारेर विद्यालय पोशाकसंग मिल्दोजुल्दो ६० थान स्विटर वितरण गरेका छन् ।
सो विद्यालयको व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका कार्कीले आफुलाई समाजसेवी भद्राकुमारी घले सेवा सदनबाट २०७८ फागुनमा प्राप्त भएको नगद ५ हजार सहितको पुरस्कारमा १३ हजार रुपैँया थप गरेर १८ हजार रुपैयाँमा ६० थान स्विटर किनेर शुक्रबार वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्की, शिक्षासेवी सुर्यविनायक नगरपालिका वडा नं १ का शिक्षासेवी मनोज कार्की, रेडियो नेपालका पत्रकार बलराम कोइराला, सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराई लगायतले विद्यार्थीलाई स्विटर वितरण गर्दै मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय वयवस्थापन समितिका पुर्व अध्यक्ष एवम् दाता कार्कीले आफुले विद्यालयको शैक्षित स्तरोन्नतिको लागि विद्यालयमा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्नुको साथै विद्यालयमा ११ र १२ कक्षा सञ्चालनमा सक्दो सहयोग गरेको र भविष्यमा पनि गर्ने बताए ।
दाता कार्की सो विद्यालयमा आफ्ना दिवंगत बुबा, आमा र दाई (स्व.कृष्ण बहादुर कार्की, स्व.हिराकुमारी कार्की र स्व.अर्जुन कुमार कार्की) को नाउँमा विद्यालयमा स्थापना गरेको छात्रवृत्ति कोषका संस्थापक हुन् ।