अलैंचीको मूल्य आठ वर्षयताकै कम किसान मर्कामा

273

इलाम । पूर्वी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैंचीको मूल्य आठ वर्षयताकै कम भएको छ । कुनै समय प्रतिमन (४० केजी)को १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलंैची अहिले प्रतिमन हजार रुपैयाँमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् । अहिले इलाममा प्रतिमन २३ हजारमा किनबेच भइरहेको छ ।

अलैंची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैंचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान चिन्तित बनेका छन् । प्रतिमन ३२ हजार रुपैंयाँमा खरिद गरेको अलैंची बिक्री गर्ने बेलामा मूल्यमा गिरावट हुने क्रम भएपछि आफूहरूले ठूलो घाटा रहेको व्यवसायी कृष्ण पौडेल

बताउँछन् । अलैंची कारोबार हुने मुख्य सिजन असोज÷कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैंची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै बेच्न बाध्य भएको फाकफोकथुम गाउँपालिकाका किसान सुरेन्द्र निरौला बताउँछन् ।

विगतका वर्षमा विभिन्न खालको प्रकोपको सामना गरेका अलैंची किसान अहिले आएर प्रकोप हटे पनि मूल्य बर्सेनि ओरालो लाग्दै जाँदा अलैंची खेतीमा लागेका किसानमा निराशा देखिन थालेको छ । नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । तर, नेपाल र भारत दुवै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकीले बताए । अलैंची विकास केन्द्र फिक्कल इलामका अनुसार इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैंची खेती हुँदै आएको छ ।