इसाइ धर्म प्रचारकले कुटपिट गरेको जाहेरी लिन मान्दैन प्रहरी मिलापत्र गर्न, अथवा अदालत जान प्रहरीको दबाब

486

इटहरीः कोरियाली धर्म प्रचारकले दुव्र्यवहार गरेको विषयमा इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिन पुगेका पीडितलाई प्रहरीले खाली हात फर्काएको छ ।

गत शनिबार इटहरी– २ की अनु राईको घरैमा कोरियाली धर्म प्रचारक ‘सङ जाहान’को नेतृत्वमा गएको समूहले उनीमाथि कुटपिट गरेको थियो ।

शुरुमा उनको घरैमा गएर कोरियाली नागरिकले गालीगलोज गरेको र केही छलफल गर्नु छ भन्दै सडकमा ल्याएर कुटेको पीडित राईले बताइन् । सोही विषयमा आइतबार नै राईले इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

त्यसको भोलिपल्ट सोमबार राईको समुहलाई प्रहरीले छलफलमा बोलाएको थियो । छलफलमा स्वयम् कोरियाली नागरिक नआएपछि उनीहरूले बैठक नबस्ने भनेका थिए ।

त्यसको केही घण्टापछि इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर धनेन्द्रहाङ खजुम र इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण बिष्टले आफूहरूलाई मिल्न दबाब दिएको पीडित राई बताउँछिन् ।

‘तपाईहरूसँग दरिलो प्रमाण छैन त्यसैले मिल्नुहोस्’ भन्दै मिल्न दबाब दिएको उनी बताउँछिन् । इन्स्पेक्टर खजुमले आफूहरूलाई बारम्बार मिल्न दबाब दिएको राई बताउँछिन् । उनीसँगै रहेका वडाध्यक्ष बिष्टले समेत कल रेकर्ड नभएका कारण मिल्न दबाब दिएको पीडितको भनाइ छ ।

त्यसपछि आफूले कल रेकर्ड होइन प्रत्यक्ष देख्ने मान्छे साक्षी छन् भनेको राई बताउँछिन् । प्रहरी र जनप्रतिनिधिले आफूलाई मिल्न दबाब दिएको र कोरियन नागरिकलाई भगाएको पीडित पक्षको भनाइ छ ।

उजुरी परेको २४ घण्टासम्म पनि कोरियन नागरिक पक्राउ पर्न सकेनन् । क्रिस्चियन धर्मकी विश्वासी अनुले चर्चमा केही प्रश्न गरेकै आधारमा आफूमाथि आक्रमण भएको बताइन् ।

आक्रमणको निशानामा परेका सोही गाउँका अभिषेक कार्की भने बच्न सफल भएका थिए । सन् २०१२ मा विश्व ध्वस्त हुन्छ भन्ने भ्रामक प्रचार गरेर किन भ्रममा परेको भन्ने जस्ता १५ वटा प्रश्न अभिषेकले गरेका थिए । त्यसछि आफूलाई धर्मविरोधीको आरोप लगाइएको उनी बताउँछन् । धर्मको विरोध गर्नेलाई नछाड्ने भन्दै कोरियन नागरिकको टालीले आफूलाई बारम्बार धम्क्याउने गरेको उनको भनाइ छ । कार्कीको समर्थन गरेको भन्दै अनु राईमाथि परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियुन) नामक चर्चकी प्रमिला राईलगायतले आक्रमण गरेका थिए ।

तिनै कोरियन नागरिकको निर्देशनमा आक्रमण गरिएको भन्दै आइतबार किटानी जाहेरी दिइएको थियो । सो जाहेरीको विषयमा कुनै सुनुवाइ नभएपछि राई र कार्की दुवै जना मङ्गलबार बिहान पुनः इलाका प्रहरी कार्यलयमा निवेदन दिन गएका थिए । संयुक्त हस्ताक्षर रहेको निवेदन दर्ता गराउन प्रहरी कार्यालयमा छिरेका उनीहरूलाई प्रहरीले फर्काइदिएको थियो ।

पीडित कार्कीका अनुसार कोरियन नागरिकले नेपालीनेपाली भिडाउने र नेपालीबाट पैसा सङ्कलन गरेर विदेश लैजाने गरेको बेहोराको निवेदन दिन लागिएको थियो । नेपाली समाजमा विभाजन ल्याउने काम भइरहेको भन्दै उनीहरूले यो कार्य रोकीपाऊँ भन्दै निवेदन दिन लागेका थिए ।

‘हामी मिलाउन सक्दैनौ न्याय चाहिएको भए अदालत जानू’ भन्दै खजुमले हप्काएको पीडितको गुनासो छ । उनीहरूका अनुसार कोरियन नागरिकलाई पक्राउ गर्नुप¥योे भन्दा खजुमले बारम्बार अदालत जान दबाब दिएको राईले बताइन् । ‘तपाईहरूलाई हामीले भनेको हुँदैन भने अदालत जानुस्,’ खजुमको भनाइ उद्धृत गर्दै राईले भनिन्, ‘होइन भने यहीँ मिलापत्र गर्नुस् ।’

गालीगलोज र धम्कीको मुद्दा अदालतले हेर्छः इन्स्पेक्टर खजुम
घरमा पुगेर धम्की दिने र मान्छे पठाएर कुट्न लगाउने कोरियन पादरी साङ जाहानलाई प्रहरीले जानाजान इटहरीबाट भगाएको निवेदक अनु राईले बताइन् । राईका अनुसार ११ बजे छलफलमा बोलाएर ४ बजे छलफल राखिएको र सो बीचमा कोरियनलाई भगाइएको उनको भनाइ छ ।

यता, इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर धनेन्द्रहाङ खजुमले आफूले त्यस्तो व्यवहार नगरेको बताए । गालीगलोज र धम्कीको मुद्दा अदालतको क्षेत्राधिकारमा पर्ने हुनाले आफ्नो कार्यालयले कोरियनलाई पक्राउ नगरेको खजुमको भनाइ छ । गालीगलोजमा अदालतको क्षेत्र भएको भए किन छलफल चाहिँ बोलाइयो भन्ने प्रश्नमा खजुमले फरक जवाफ दिए ।

उनले भने, ‘उहाँहरूले पासपोर्टको मिति नाघेको कुरा गर्नुभएको छ यो हामीले हेर्ने होइन । इमिग्रेसनको काम हो । मैले इमिग्रेसनमा जानकारी दिएको छु ।’प्रदेश पोर्टलको सहयोगमा