ईबीए परियोजनालाई ५२ लाख डलर ५९ हजार लाभान्वित हुने

239

भक्तपुर ।सरकारले ५२ लाख अमेरिकी डलरको पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु अनुकूलन आयआर्जनसम्बन्धी (ईबिए) परियोजना संचालन गर्ने तयारी गरिरहेको छ ।

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनको कारण जोखिममा रहेका तीनवटा जिल्लाका ११ वटा स्थानीय तहमा ईबीए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

अछाम, सल्यान र दोलखा जलवायु परिवर्तनका हिसाबले बढी जोखिम रहेकाले ईबीए कार्यक्रम सञ्चालन गर्न लागेको मन्त्रालयले बताएको छ ।

जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि अतिविकसित राष्ट्रको जलवायु कोषले अनुदान स्वरुप रकम उपलब्ध गराउन लागेको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले ईबीए परियोजना सञ्चालन भएपछि जैविक विविधता र वातावरणीय सेवाको संरक्षण, सदुपयोग र मानिसको जीवनस्तर सुधार गर्नका लागि सहयोग पुग्ने बताएका छन् ।

“जलवायु परिवर्तनको जोखिममा परेका समुदायका मानिसलाई उनीहरूको क्षमता अभिवृद्धि गर्न पनि यो परियोजनाले सहयोग गर्नेछ,” उनले भने, “ईबीएअन्तर्गत जलवायुको जोखिमसँग लड्न, वन र जैविक विविधता संरक्षण र कृषि उब्जनी बढाउन, खर्क (घाँसे मैदान) संरक्षण हुनेछ ।”
जलवायु जोखिममा रहेका देशको परिस्थितिमा आधारित जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अतिविकसित राष्ट्रहरूको जलवायु परिवर्तन अनुकूलनका लागि दिने सहयोग रकम हो ।

आयोजनाअन्तर्गत १ हजार हेक्टरभन्दा बढी क्षेत्रमा वृक्षरोपण, ४ सय ५० हेक्टर चरन क्षेत्र व्यवस्थापन र सुधार, ४ सय हेक्टर खेत सुधार, पानीका मुहानको संरक्षण, जडिबुटीखेती प्रोत्साहन, अदुवा अलैँची टिमुरको प्रशोधनलगायत काम हुनेछ । परियोजनाबाट १२ हजार ७२ घरधुरीका ५९ हजार १ सय ७२ व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ ।