भक्तपुर । किकम्पा मन्टेशरी स्कुलको आयोजनामा एकदिने किकम्पा एजुकेशन एक्पो २०८१ शनिवार सम्पन भयो । किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्री देवचन्द्र बज्राचार्यज्यूको प्रमुख आतिथ्यता भएको सो एक्पोमा किकम्पा मन्टेशरीमा अध्ययनरत विद्यार्थीहरुद्धारा तयार पारिएका विभिन्न हस्तकलाका सामाग्री, पेपर क्राप्ट, हस्तलेखन तथा स साना विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उद्देश्य तयार पारिएका विभिन्न बस्तुहरु पनि प्रदर्शनी गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि श्री बज्राचार्यज्यूले स साना भाईबहिनीहरुलाई प्रतिस्पर्धाको भावनाबाट नभई व्यवहारिक ज्ञान दिई शिक्षित गर्नपर्ने आजको आवश्यता भएको कारण समय समय यस्ता क्रियाकलापहरु गरी स साना विद्यार्थीहरुमा भएका प्रतिभाहरु बाहिर ल्याई सोही अनुरुपको शिक्षा दिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी प्रवन्धक निर्देशक श्री अच्यूत प्रजापतिज्यूले यस मन्टेश्वरीका स साना विद्यार्थीद्धारा राम्रा राम्रा क्राप्टहरु बनाई प्रदर्शन गरेकोमा एकदम खुशी लागेको र यसले बाल बालिकाको सोच्ने शैलीमा विकास हुने धारणा राख्नु भयो । यसै गरी विद्यालयका प्रिन्सिपल राजेश लाखाज्यूले विद्यार्थीलाई परिक्षाको नाममा सानै देखि दिमागमा दवाव दिने शिक्षा भन्दा स्वतन्त्र रुपमा रमाई रमाई सिक्न सक्ने बातावरणका साथ संचालन भई रहेको यस मन्टेश्वरीमा विद्यार्थी भाई बहिनीहरुले तयार पारेका सामानहरुको अलावा विभिन्न बस्तुहरुको पनि ज्ञान दिने उद्देश्यले दैनिक उपयोगहरु औजारहरु, परम्परागत रुपमा मापन गर्ने माना, कुले, पाथी पुजा गर्दा प्रयोग हुने पुजा थालि सुकुन्दा त्वारिवा सो सँग सम्बन्धित विभिन्न बस्तुहरु, विभिन्न समुदायले बजाउने बाजाहरु, विभिन्न समुदायले लगाउने परम्परागत लुगा तथा सास्कृतिक पोशाकहरु, बाल मैत्री गणितीय खेलहरु पनि प्रदर्शन गरिएको जानकारी गराउनु भयो ।
प्रदर्शनीमा राखिएका बिषयहरु सम्वन्धमा विद्यार्थीहरुद्धारा नै आगन्तुकलाई जानकारी गराएको सो एक्पोमा घरेलु उद्योगका उत्पादन र फेस पेन्टिङ्गका स्टलहरु पनि राखिएको थियो ।कार्यक्रममा बालबालिकाहरुले नृत्य, जिम्याष्टिक,विभिन्न खेलकुद, चित्रकला लगायतको प्रतिभा पनि प्रस्तुत गरीएको थियो भने उपश्थित अभिभावकहरुले पनि नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रोमान्चारी बनाएको थियो ।








































