दोलखा । एमालेले आफूलाई पटक पटक धोका दिएको र अन्याय गरेको भन्दै दोलखाका एमाले नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदबारी दिएका छन् ।
आफूमाथि बारम्बार अपमान भएको भन्दै केसीले विद्रोह गरेर आफू स्वतन्त्र उम्मेदवार बन्न नचाहेरै कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेको बताएका छन् ।
एमालेका प्रभावशाली नेता केसी प्रदेश (ख) को उम्मेदवारका लागि सिफारिस भएका थिए भने ०५४ सालमा दोलखा जिल्ला विकास समितिको सभापतिसमेत बनेका केसी ०६४ र ०७० मा पनि सभासदको दाबेदार थिए ।
तर, दुवै चुनावमा आनन्द पोखरेलले टिकट पाएपछि केसीप्रति एमाले कार्यकर्ताको सहानभूति थियो । उनले यसपटक टिकट पाउने सम्भावना थियो ।
तर, अन्तिम घडीमा पोलिटव्यूरो सदस्य पशुपति चौलागाई प्रदेश (ख) को उम्मेदवार बन्न काठमाडौंबाट दौडेर दोलखा पुगेपछि केसीले टिकट नपाएका हुन् ।
एमाले नेता चौलागाई प्रतिनिधिसभाको उम्मेदवारका दाबेदार थिए । तर, केपी ओली पक्षका प्रभावशाली युवा नेता पार्वत गुरुङले दोलखामा प्रतिनिधिसभाको टिकट पाएपछि चौलागाई प्रदेशसभा भए पनि नछाड्ने भन्दै आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा उम्मेदवार बन्न पुगेका हुन् ।