ककनी ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट ककनी गाउँपालिका–५ मा निर्माण सम्पन्न ‘ककनी भ्यू टावर’ आइतबार एक विशेष समारोहका बीच स्थानीय पालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री सुरेश श्रेष्ठले भ्यू टावर तथा मल्टी–पर्पोज हलको उद्घाटन गर्दै हस्तान्तरण प्रक्रिया पूर्ण गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ककनीलाई बागमती प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले निर्माण सम्पन्न संरचनाहरू समयमै स्थानीय तहलाई हस्तान्तरण नगर्दा प्रदेशले गरेको लगानीको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै, अबदेखि सबै संरचना शीघ्र हस्तान्तरण प्रक्रियामा ल्याइने जानकारी दिनुभयो।
बागमती प्रदेशसभा सदस्य रमेश महतले नेपालको धनी सम्पत्ति प्राकृतिक छटा भएकाले ती दृश्यावलोकनका स्थान र पूर्वाधारमा ध्यान दिन सके मात्र पर्यटन उद्योगले ठोस गति लिने बताउनुभयो। उहाँले प्राकृतिक स्रोत–साधनको सही उपयोगले स्थानीय आम्दानीदेखि प्रदेशको समग्र आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नुभयो।
संस्कृति तथा पर्यटन सचिव दिपेन्द्र सुवेदीले प्रदेश सरकारले गरेको लगानीलाई स्थानीय पालिकाले प्रभावकारी रूपमा उपयोग गर्न सके पर्यटन पूर्वाधारले प्रतिफल दिन थाल्ने उल्लेख गर्नुभयो।
हस्तान्तरण संरचना ग्रहण गर्दै ककनी गाउँपालिका उपप्रमुख मिठुमाया तामाङले संरचना ढिला भए पनि मन्त्री स्वयं आएर अवलोकन गर्दै हस्तान्तरण गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भ्यू टावर निर्माणको मूल उद्देश्य—पर्यटन प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धि—पूरा गर्न गाउँपालिकाले जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा वडा नं. ५ का अध्यक्ष बुद्धराज तामाङ, आयोजनाका प्रमुख रोशन श्रीवास्तव, काठमाडौँका प्रमुख उत्तम चौलागाईं, पर्यटन कार्यालयका प्रमुख पवन पोखरेल, ककनी गाउँपालिकाका कार्यकारी प्रमुख खुम्बराज राईलगायत स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उपस्थिति थियो।
सो अवसरमा भ्यू टावर तथा मल्टी–पर्पोज हलबाट हुने आम्दानी प्रदेश सरकारलाई ३० प्रतिशत र ककनी गाउँपालिकालाई ७० प्रतिशत वितरण हुने व्यवस्था औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
आयोजनाका प्रमुख रोशन श्रीवास्तवले संरचना उपप्रमुख तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै ककनीको पर्यटन विकासले नयाँ उचाइ हासिल गर्ने आशा व्यक्त गर्नुभयो।
ककनी भ्यू टावर हस्तान्तरणसँगै ककनी पर्यटक आकर्षणको नयाँ गन्तव्यका रूपमा उदाउने अपेक्षा गरिएको छ।







































