कञ्चनपुर — कञ्चनपुरमा पछिल्लो समय जङ्गली हात्तीको आक्रमण तीव्र बन्दै गएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासका बस्तीमा हात्ती प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षति पनि वर्षैपिच्छे दोब्बर हुँदै गएको स्थानीय निकाय र सुरक्षाकर्मीले जनाएका छन्।
सबैभन्दा पछिल्लो घटना गत मङ्गलबार राति घट्यो। भीमदत्त नगरपालिका–१४, वनकट्टीका नन्दलाल विष्टको घरमा जङ्गली हात्ती पसेर आक्रमण गर्दा ४५ वर्षीया धनादेवी विष्टको ज्यान गयो। कच्ची घर भत्काउँदै घरभित्र छिरेको हात्तीले पिठ्युँ, कुम र खुट्टामा गम्भीर चोट पुर्याएपछि उपचारको क्रममा धनादेवीको मृत्यु भएको परिवारले बताएको छ। हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको थियो।
यसअघिको असोज २ गते बेलौरी नगरपालिका–३ का ६० वर्षीय श्रीप्रसाद आचार्यलाई साइकलमा यात्रा गर्दै गरिएको हात्ती आक्रमणले ज्यान गएको थियो। बुटाबारीबाट ढक्का शिविरतर्फ जाँदै गरेका आचार्यलाई पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको थियो।
यी दुवै घटना प्रतिनिधि मात्रै हुन्। कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व बढेसँगै हात्तीको आक्रमणबाट मृत्यु दर वर्षैपिच्छे बढिरहेको छ।
सात वर्षमा १४ जनाको ज्यान
डिभिजन वन कार्यालय र शुक्लाफाँटा निकुञ्जका तथ्याङ्कअनुसार कञ्चनपुरमा पछिल्ला सात वर्षमा १२ जनाले हात्ती र दुई जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन्।
त्यस अवधि मात्रै ८ जना सख्त घाइते र १८ जना सामान्य घाइते भएका छन्।
हात्तीको आक्रमण विशेष गरी मध्यवर्ती क्षेत्र, मोहना–लालझाडी कोरिडोर र निकुञ्ज नजिकका बस्तीमा केन्द्रित छ।
आर्थिक वर्ष–
-
२०७६/७७ : ३ जना मृत्यु
-
२०७८/७९ : ३ जना मृत्यु
-
२०७९/८० : २ जना मृत्यु
-
२०८१/८२ : २ जना मृत्यु
-
२०८२/८३ (हालसम्म) : २ जना मृत्यु
मृतकमध्ये शुक्लाफाँटाका बलदेव बोहोरा, धोजबहादुर कार्की, मथुरादेवी कार्की, लालझाडीका रामदल राना, बेलौरीका उमेश चौधरी र श्रीप्रसाद आचार्य प्रमुख रूपमा हुन्।
त्यस्तै बाघको आक्रमणबाट केही वर्षअघि बेलौरी–८ की गङ्गादेवी चन्द र गत वर्ष दोधारा चाँदनी–२ का २३ वर्षीय हीरा शाहको मृत्यु भएको थियो।
पद्मा कुँवर, लक्ष्मीदेवी जोशी, परी विष्टलगायत धेरैजना हालैका वर्षमा गम्भीर घाइते भएका छन्।
हात्तीको आक्रमण किन बढ्यो ?
शुक्लाफाँटा निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार हात्तीको आक्रमण बढ्नुको मुख्य कारण झुन्डबाट निष्कासित भाले हात्ती (मकुना र लेदे) हुन्।
-
मकुना : दाँत नबढेको भाले
-
लेदे : पुच्छर छोटो भएको भाले
यी दुवै प्रकारका भाले हात्ती झुन्डले अलग्याएका हुन्छन्।
वाग्ले भन्छन्—“हात्ती मातृसत्तात्मक संरचनामा बस्ने जनावर हो। हजुरआमाले सिकाएको मार्ग र व्यवहार झुन्डले दशौँ वर्षसम्म दोहोर्याउँछ। तर झुन्डबाट निकालिएका भालेले परम्परागत बाटो बिर्सन्छन् र प्रायः मानवबस्तीमा पस्छन्। यसरी नै पछिल्ला वर्षमा प्रत्येक साल मान्छेको ज्यान जाने घटना दोहोरिइरहेको छ।”
निकुञ्जअनुसार हाल सो क्षेत्र आसपास करिब ५० हात्ती छन्, जसमा मकुना र लेदे दुई हात्तीले मात्रै पछिल्ला वर्षमा सर्वाधिक क्षति गराइरहेका छन्।
द्वन्द्व रोकथाम चुनौती
मध्यवर्ती क्षेत्र विस्तार, बस्तीको फैलावट, वन तथा आहारा क्षेत्रमा मानवीय हस्तक्षेप र हात्तीको परम्परागत गल्छेडा अवरुद्ध हुनुले मानव–वन्यजन्तु द्वन्द्व चर्किएको विज्ञहरूको निष्कर्ष छ।
स्थानीय बासिन्दाले रात्रिकालीन गस्ती, चेतनामूलक कार्यक्रम र सुरक्षित बस्ती व्यवस्थापनलाई बढाइदिन माग गरेका छन्।







































