कर्णाली प्रदेशमा बजेट कार्ययोजना बनाउन प्रादेशिक अर्थ समितिको निर्देशन

250

सुर्खेत- कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले स्पष्ट कार्ययोजना बनाएर बजेट कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ। 

समितिको आज बसेको बैठकमा सांसदले पहिलो चौमासिक बित्नै लाग्दासमेत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै परिणाममुखी कार्ययोजना बनाउन आग्रह गरे।  

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवसहित सात वटै मन्त्रालयका सचिवको सहभागिता थियो। समितिको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको हालसम्मको अवस्था, आ–आफ्ना मन्त्रालयका कार्ययोजनासहित उपस्थित हुन सचिवहरुलाई निर्देशन दिएको थियो। 

बैठकमा सचिवहरुले वार्षिक कार्यक्रमका साथै हालसम्मको कार्य प्रगति प्रस्तुत गरेका थिए। 

नेकपाका प्रदेशसभा सदस्य यामलाल कँडेलले पहिलो चौमासिक सकिन लाग्दासमेत बजेट खर्च गर्ने कार्ययोजना किन बनाउन सक्नुभएन ? भनी प्रश्न गरे। ‘संरचना छैन्, जनशक्ति छैन भनेर अल्झिन पाइँदैन’, उनले भने , ‘तीनै समस्याका बीच पनि बजेट गाउँ–गाउँमा पुर्‍याउने उपाय के हुनसक्छन्, मन्त्रालयस्तरबाट गहन अध्ययन गर्नुस्।’ 

कर्णाली प्रदेश सरकारले गत असार १ गते २८ अर्ब २८ करोड २८ लाख बराबरको बजेट सार्वजनिक गरेको थियो। 

काङ्गे्रस प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेश सरकार बजेट कार्यान्वयनका सवालमा गम्भीर नभएको आरोप लगाए। ‘गाउँ जाँदा जनताले सोधेर हैरान गर्न थाले, सरकारका मन्त्री र सचिवहरुमा यसतर्फ कुनै तत्परता देखिएन’ उनले भने। 

अर्का सदस्य दानसिं परियारले डिभिजन कार्यालय स्थापना गर्ने निहुँमा प्रदेश सरकारले हचुवाका भरमा कतिपय महत्वपूर्ण जिल्लास्तरीय संरचनाहरु हटाउन थालिएको भन्दै आपत्ति जनाए। 

समितिका अध्यक्ष अम्मरबहादुर थापाले जागिरे मानसिकताबाट माथि उठेर कर्णालीको विकासका लागि अझ बढी जिम्मेवार हुन सचिवहरुलाई आग्रह गरे।  बैठकले सचिवहरुलाई तत्काल आ–आफ्नो मन्त्रालयको बजेट खर्च गर्ने कार्यविधि बनाउन निर्देशन दिएको छ। रासस

Source link