भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं सांसद महेश बस्नेतले नेपाली काँग्रेसले अल्पमतको अधिनायकवाद देखाएको बताउनुभएको छ । व्यवस्थापिका संसद र संसदीय सुनुवाइ समितिमा काँग्रेसको अल्पमत हुँदाहुँदै पनि संसद अबरुद्ध गरेर अधिनायकवादी शैली देखाएको बताउनुभयो ।
नेकपा सूर्यविनायक नगर कमिटि वडा नं.७ ( गुण्डू) को वडा कमिटिको बैठकमा बोल्दै बस्नेतले काँग्रेसले सरकारको काममा अनावश्यक भाझो हालेर जनहित विपरित कार्य गरेको आरोप लगाउनुभयो ।
अब सरकारको कामले तिब्रता पाउने भन्दै उहाँले प्रधानमन्त्री ओलीले आम नागरिकलाई नयाँ उत्साह दिएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद बस्नेतले पार्टीका कार्यकर्ताले विकास निर्माणको काममा जोडिनुपर्ने चर्चा गर्दै भन्नुभयो, ‘ स्थानीय तहका वडा कमिटिले स्थानीय तह विभाग गठन गरी जनप्रतिनिधिसँग विकास निर्माणको काममा समन्वय र सहकार्य गर्नुपर्छ । ’
सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले नगरपालिका र वडा समितिले गरेको विकास निर्माणको कामको जानकारी गराउँदै विकास निर्माणमा जनसहभागितालाई प्राथमिकता दिने गरेको बताउनुभयो । नगरपालिकाले गर्ने सबै योजनाहरु प्रदेश र संघीय सांसदहरुसँग समन्वय गर्ने गरिएको भन्दै नागरपालिकाले गरेको काममा आवश्यक सुझाव दिन आग्रह गर्नुृभयो ।
स्थानीय जनप्रतिनिधिहरुले कर बढाएको भनी अनावश्यक प्रचार भएको प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको वडा कमिटिको बैठकमा जानकारी दिदै सूर्यविनायक नगरपालिकाले भने अहिले करदको दायरा मात्र फराकिलो पारेको तर करको दर भने नबढाएको स्पष्ट पार्नुभयो ।
नेपाल कम्यिुनिष्ट पार्टी सूर्यविनायक वडा नं.७ कमिटिका अध्यक्ष किरण कार्कीले जनप्रतिनिधिको कामप्रति पार्टी कमिटी सन्तुष्ट रहेको भन्दै आगामी दिनमा अझै जनभावना अनुसार काम गर्न आग्रह गर्नुभयो ।
सहभागि अन्य पार्टी कमिटिका कार्यकताले आआफ्नो धारणा व्यक्त गर्नुभयो ।







































