कांग्रेसको समानुपातिक बन्दसूची : कुन प्रदेशमा काे-काे परे ?

0

काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशगत रूपमा कुन क्लस्टरबाट कति नेतालाई समानुपातिकको बन्दसूचीमा राख्ने भन्ने विषय टुंग्याएको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले प्रदेशगत रूपमा कोशी प्रदेशबाट १९, मधेस प्रदेशबाट २१ जना, बागमती प्रदेशबाट २२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट १८ जना, कर्णाली प्रदेशबाट ११ जना र सुदूरपश्चिम प्रदेशबाट १० जना नेता गरी ११० जनाको नाम समानुपातिकको बन्दसूचीमा राख्ने निर्णय भएको छ ।

कांग्रेसले प्रदेशगत रूपमै निर्वाचन आयोगले छुट्टयाएका ६ क्लस्टरमा कुन क्लस्टरबाट कति जनालाई राख्ने भन्ने पनि टुंग्याएको छ । आयोगले आदिवासी/जनजाति, खस/आर्य, थारु, दलित, मधेसी र मुस्लिम गरी ६ क्लस्टर छुट्टयाएको छ ।

कोशी प्रदेशबाट आदिवासी/जनजातिमा ९, खस/आर्यमा ४, थारुमा १, मधेसीमा १, दलितमा २ र मुस्लिम क्लस्टरमामा २ जना गरी १९ जना बन्दसूचीमा राखिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

मधेस प्रदेशबाट आदिवासी/जनजातिमा १, खस/आर्यमा १, थारुमा १, दलितमा ४, मधेसीमा १२ र मुस्लिम क्लस्टरमा २ जरी जम्मा २१ जनाको नाम बन्दसूचीमा राखिनेछ ।

बागमती प्रदेशबाट आदिवासी/जनजातिमा १२, खस/आर्यमा ८, दलितमा १ र मधेसी क्लस्टरमा १ गरी २२ जनाको नाम बन्दसूचीमा राखिनेछ । यो प्रदेशबाट थारु र मुस्लिमको नाम बन्दसूचीमा नराखिने विश्वकर्माले जानकारी दिए ।

गण्डकी प्रदेशबाट आदिवासी/जनजाति ५, खस/आर्य ४ र दलित क्लस्टरबाट २ गरी ११ जनाको नाम बन्दसूचीमा राखिने नेताहरूले सहमति गरेका छन् । यो प्रदेशबाट थारु, मधेसी र मुस्लिम क्लस्टरबाट कसैलाई पनि बन्दसूचीमा नराख्ने सहमति नेताहरूबीच भएको छ ।

लुम्बिनी प्रदेशबाट आदिवासी/जनजाति ३, खस/आर्य ५, दलित ३, मधेसी ३, थारु ३ र मुस्लिम क्लस्टरबाट १ जना गरी जम्मा १८ जनाको जनाको नाम कांग्रेसले बन्दसूचीमा राख्दैछ ।

कर्णाली प्रदेशमा आदिवासी/जनजाति २, खस/आर्य ६ र दलित क्लस्टरबाट २ गरी जम्म १० जनाको नाम बन्दसूचीमा राख्ने तयारी भइरहेको छ । यो प्रदेशबाट थारु, मधेसी र मुस्लिम क्लस्टरबाट बन्दसूचीमा कसैको पनि नाम नराख्ने सहमति बनेको छ ।

सुदूरपश्चिम प्रदेशबाट खस/आर्य ६, थारु २ र दलित क्लस्टरबाट २ गरी १० जनाको नाम बन्दसूचीमा राखिने भएको छ । यो प्रदेशबाट आदिवासी/जनजाति, मधेसी र मुस्लिम कोटाबाट कसैको पनि नाम नराख्ने सहमति बनेको छ ।

सबै प्रदेशबाट मिलाउँदा आदिवासी/जनजाति क्लस्टरबाट ३२, खस/आर्य क्लस्टरबाट ३४, दलित क्लस्टरबाट १६, थारु क्लस्टरबाट ७, मुस्लिम क्लस्टरबाट ५, मधेसी क्लस्टरबाट १६ जना गरी ११० जना पु¥याइएको छ ।

तयार पारिएको खाकामा नाम भर्नका लागि सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बसिरहेको छ । बैठकले खाका अनुसार नाम राख्दै निर्णय गरेर दिउँसो १ बजे निर्वाचन आयोगमा पुगेर बन्दसूची बुझाउने तयारी रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

‘हामीले प्रदेशगत रूपमा कुन क्लस्टरका कति मान्छे राख्ने भन्ने खाका तय गरेका छौँ । त्यही खाकामा मानिसका नाम राखेर कार्यसम्पादन समिति बैठकबाट निर्णय गरी दिउँसो एक बजे निर्वाचन आयोगमा जाने तयारी छ,’ विश्वकर्माले भने ।

कांग्रेसले यो भन्दा अघिल्ला निर्वाचनमा संसदीय समिति बनाएर उम्मेदवारको बन्दसूची बनाउने गरेको भए पनि यो पटक कार्यसम्पादन समितिले नै निर्णय गरेर बुझाउने तयारी छ ।