भक्तपुर, ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसलाई धारीलो बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।बीपी कोईराला बिचार समाज नेपालले आज भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले नेपाली कांग्रेस नेपाली राजनीतिको बिश्वबिद्यालय भए पनि अहिले यसको धार भुत्तो रहेको बताउनुभयो ।
कांग्रेसमा सामन्तवादको झल्को अझै आउने गरेको बताउँदै कांग्रेसीले ब्यबहार बदल्न जरुरी रहेको र पार्टी बिधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।आम जनता र कांग्रेसी सुधारिएको कांग्रेसको पक्षमा रहेको भन्दै पौडेलले त्यसका लागि आफूहरु निरन्तर क्रियाशिल रहिरहेको बताउनुभयो । उहाँले संसारबाट अस्ताउँदै गएका कम्युनिष्ट नेपालमा बलियो हुँदै जानुमा कांग्रेसकै कमजोरी कारक रहेको उल्लेख गर्नुभयो ।
नेकपा नेतृत्वको सरकारले कमजोरी गर्ला वा नेकपा फुट्ला र लाभ लिउँला भनेर कांग्रेसले कुर्ने होईन भन्दै उहाँले कांग्रेसलाई बिविध पक्षबाट सुधार्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।आगामी दिनमा कम्युनिष्ट कमजोर हुने ,फुट्ने र बिग्रने निश्चित भए पनि त्यसको बिकल्प कांग्रेस नै हुन्छ भन्ने नभएकाले कांग्रेसले अबको पहिलो शक्ति हुने गरी नेपाली समाजले खोजेको कुरा दिन सक्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्कदिक्क भइसकेको र सरकारले हावादारी गफमात्र गरिरहेको उहाँले आरोप लगाउनुभयो ।‘प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्न् तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन’पौडेलले भन्नुभयो ।
दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि असुरक्षा, महँगी, फितलो प्रशासन,भ्रष्टाचार र जर्जर भौतिक पूर्वाधारका कारण नेपालीहरुको दैनिकी कष्टकर हुँदा समेत सरकार मूकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उहाँको भनाई थियो ।
पौडेलले सरकार संबिधान संबिधान प्रति जिम्मेवार नदेखिएको बताउँदै लोकतान्त्रिक प्रणालीलाई नै असफल गराएर कम्युनिजम लागु गर्ने षडयन्त्रमा सरकार लागेको आरोप लगाउनुभयो ।उहाँले नेपाली समाजलाई बाहुबलले पेल्ने तथा पैसा र बलको आधारमा सर्वसत्तावाद लाद्ने कम्युनिष्ट चरित्र छिट्टै जनतामाझ उदाङ्गो हुने धारणा राख्नुभयो ।
संसारमा एउटै पार्टीका दुई अध्यक्ष भएको पार्टी नेकपा मात्रै रहेको बताउँदै उहाँले तत्कालिन एमाले र माओवादी केन्द्रबीचको मिलन अप्राकृतिक र प्राविधिक मात्र भएको उल्लेख गर्नुभयो ।
यो मिलन धेरै समय नटिक्ने दाबी गर्दै उहाँले विचारका आधारमा नभई शक्ति प्राप्त गर्ने आधारमा भएको नेकपाको मिलनले देश र जनतालाई राम्रो नगर्ने बताउनुभयो ।
संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाउदै पौडेलले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार जनताको जीउधन र शान्ति सुरक्षा दिन असफल भएको दाबी गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य शिबप्रसाद हुमागाईंले कांग्रेसका नेता र अगुवा कार्यकर्ता नसुध्रिए र जनतालाई बैकल्पिक भरोसा दिन नसके कांगे्रस पार्टी मात्र होईन लोकतन्त्र नै धरापमा पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सांसद धना खतिवडा ,नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा,पुर्बसांसद लेखनाथ न्यौपाने,पुर्व जिल्ला सभापति गणेशमान चक्रधर,समाजका अध्यक्ष महेश श्रेष्ठ,पार्टी सचिब उद्धब सिलवाल,नेता जीवन खत्री ,धर्मराज कार्की लगायतले बीपीको जगमा उभिएर नयाँ आत्मबिश्वासका साथ एक ढिक्का भएर अगाडि बढ्ने हो भने काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।







































