काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेको छ।
सोमवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले हस्ताक्षरको संख्या निरन्तर बढिरहेको जानकारी गराएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतवारसम्म २ हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेकोमा सोमवार थप ६.२४ प्रतिशतले वृद्धि भएको बताउनुभयो।
उहाँका अनुसार हालसम्म ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन् भने आउने क्रम अझै जारी छ। संस्थापन पक्षलाई विधानले नचिन्ने दाबी गर्दै उहाँले पार्टीका सबै नेताहरूलाई बन्दसत्रमा सहभागी हुन आग्रह गर्नुभयो।
“हिजोको संख्यामा आज ६.२४ प्रतिशतले वृद्धि भएको छ। ६६ प्रतिशतको कुरा सुनियो, तर हामी ७० प्रतिशत पुर्याएर देखाउँछौँ,” उहाँले भन्नुभयो।
नेता पोखरेलका अनुसार मंगलवार बिहान ९ बजेदेखि नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रका लागि ९ वटा समूह गठन गरिएको र कोशी प्रदेशले प्रतिवेदन बुझाइसकेको उहाँले जानकारी दिनुभयो। मंगलवार नै निर्वाचन, अनुशासन समिति तथा केन्द्रीय समिति लगायतका संरचनाहरू भंग गर्ने तयारीसमेत रहेको उहाँको भनाइ छ।







































