काठमाडौँ– कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिएको छ । प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिनसमेत विशेष मेला लाग्छ ।
नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएको छ । नगरपालिकाको नामकरण भएकाले काग तिहारमा विशेष मेला समेत शुरु गरिएको हो । सनातनदेखि नै यहाँ भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गर्न आउने भक्तजनको भीड लाग्थ्यो । पूजा गर्न आउने भक्तजनका माध्यमबाट मेलासमेत लाग्ने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन् । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ । भाद्र शुक्ल अष्टमीमा कुनै कारणले चढाउन नपाएका भक्तजनले कार्तिक कृष्ण त्रयोदशीका कागेश्वरी महादेवलाई गोसाइँकुण्डको जल चढाउँछन् ।
नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेल कागका रूपमा रहेका कागेश्वरी महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश भई सुख, शान्ति प्राप्त हुने विश्वास रहेको बताउनुहुन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो । कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । कागेश्वरी मेलामा लाखौँ हिन्दू र बौद्ध धर्माबलम्बीको भीड लाग्छ ।
सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ ‘स्वस्थानी व्रतकथा’मा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम र नगरपालिकाको रु १३ लाख लागतमा २२७ किलोको कागको मूर्ति स्थापना गरिएको थियो ।







































