काठमाडौं क्यान्सर सेन्टरद्वारा विपन्न र वडाबासीलाई बेवास्ता

ताथलीको काठमाडौं क्यान्सर सेन्टरमा अनुगमन : विपन्न र वडाबासीलाई बेवास्ता

689

भक्तपुर । भक्तपुर  चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोकास्थित काठमाडौं क्यान्सर सेन्टरको अस्पतालको अनुगमन गरिएको छ ।

अनुगमनमा स्वास्थ्य कार्यालय भक्तपुर, चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा र वडा कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । टोलीले अस्पतालले दिइरहेको सेवा सुविधा र सरसफाइको विषयमा अनुगमन गरेको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए ।

अनुगमनको क्रममा अस्पतालले विपन्न नागरिकको लागि दिनुपर्ने १० प्रतिशत छुट सुविधा दिए पनि त्यसको डकुमेन्ट व्यवस्थित तरिकाले नराखेको पाइएको छ । ‘अनुगमनको क्रममा हामीले अस्पतालले विपन्न नागरिकलाई दिनुपर्ने १० प्रतिशत छुटका विषयमा सोधखोज गर्दा अस्पताल प्रशासनसँग त्यसको व्यवस्थित विवरण नरहेको पाइयो । अस्पताल प्रशासनले अस्पताल सञ्चालकले गरेको सिफारिसको आधारमा छुट दिएको जनाएको छ’, टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताए ।

उनले अस्पतालले दिइरहेको सेवा र छुटको लिखित विवरण बुझाउन निर्देशन समेत दिएको जानकारी दिए । अनुगमनका क्रममा क्यान्सर सेन्टरले २०८० साउनदेखि कार्तिक महिनासम्म स्वास्थ्य कार्यालय भक्तपुरमा पेश गरेको विवरणमा क्यान्सर पीडितलाई आंशिक छुट दिएको विवरणमा २९ लाख भन्दा बढी छुट गरेको विवरण पेश गरे तापनि अनुगमनको क्रममा सो बराबरको छुट गरेको नपाइएको समेत खुलेको छ । उक्त तथ्य खुलेपछि अनुमगन टोलीले सोको सत्यतथ्य विवरण राख्न र छुट पाएका व्यक्तिहरुको नामथर सहितको विवरण दुरुस्त राख्न निर्देशन दिएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले अस्पतालको शय्याका आधारमा १० प्रतिशत विपन्न वर्गलाई निः शुल्क रुपमा उपचार गर्नुपर्नेमा सो नगरेको पाइएको र १० प्रतिशतको आधारमा प्रत्येक महिनामा ५ जना विपन्न वर्गले निःशुल्क रुपमा उपचार पाउन पर्नेमा सो नाएको र सामाजिक उत्तरदायित्व अन्तर्गत मासिक ५ जनालाई निः शुल्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि कुनै पनि महिना उक्त काम नगरेको समेत पाइएको थियो ।

टोलीले अस्पताललाई सोबारे पनि ध्यान दिन निर्देशन दिएको छ । साथै वडाका तर्फबाट वडावासीलाई सेवा सुविधा बढाउनुका साथै नागरिक वडापत्र यथासिघ्र राख्न वडा अध्यक्ष गणेश त्यातले निर्देशन दिएका थिए ।