Home समाचार काठमाडौं फर्किए पूर्व राजा ज्ञानेन्द्र, राजा रहे हिन्दु धर्म जाेगिन्छ
जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र साहको जनकपुरधाम भ्रमण सम्पन्न भएको छ । २९ फागुनम जनकपुरधाम आएका पूर्व राजाले जानकी मन्दिरमा पूजा अर्चना गर्नुका साथै सर्लाहीको मंलगवा, उदयपुर घूमीसकेका छन भने आइतवार सप्तरीको सखडा भगवतीको दर्शन गरेका छन ।
जनकपुरधामबाट हिँड्ने वेलामा राजावादीहरुको ठूलो संख्यामा भीड रहेको थियो राजावादीहरुले माला लगाएर पूर्व राजालाई विदाई गरेका छन । समर्थकहरुले राजा ल्याउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै नारा समेत लगाएका थिए । जनकपुर आएदेखी प्रत्येक जिल्लामा भएको यसप्रकारको कार्यक्रममा राजा आउ देश बचाउ नारा घन्केको थियो ।
‘देशको एउटा शक्ति राजा हो यस कुरोलाई नजरअन्दाज गर्न मिल्दैन’ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य मनोजप्रताप मल्लले भने । राप्रपा नेपालका अतिरिक्त पशुपतिशम्सेर राणा र प्रकाशचन्द्र लोहनी पार्टीका नेता कार्यकर्ताहरु पनि भ्रमणभरी देखिएका थिए । चारदिनमा पूर्व राजाले दर्जनौ व्यक्तिसंग पालो पालो भेट गरेका छन् भने आफू बोल्नुभन्दा पनि अरुको कुरो बढी सुनेको भेटनेहरुले बताए । मधेसी जनताको पीरमर्का र असन्तुष्टि सुन्नका लागि पूर्वराजाले सकेसम्म बढी समय व्यतीत गरेको उनकै भ्रमणमा रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताए । जनताले धर्म र देश रक्षाका लागि राजा चाहियो भनेर एकमात्र माग राखेको उनको दावी छ ।
राजा रहे हिन्दु धर्म जाेगिन्छ
स्वागतका लागि पुगेका कांग्रेस नेता रामानन्द चौधरी ललनने कांग्रेसको एउटा ठूलो समूह राजा सहितको प्रजातन्त्र चाहेको धारणा राखे । ‘जहाँ राजा रहने छन् त्यहाँ हिन्दू धर्म रहन्छ ।’ उनले भने । कुनै बेला राजपरिषद स्थायी समितिमा समेत पुगेका सामुदायिक विद्यालयका पूर्व प्रधानाध्यापक कारी यादव पछिल्लो समय मधेसमा सबैखाले उग्रवादी र राष्ट्रघाती प्रयोगहरु असफल भइसकेकाले अब बैदिक सनातन राज्य जोगाउन मधेसमा हिन्दू राज्यको माग उठ्ने आँकलन गर्छन् ।
पूर्वराजाले मधेसी जनतासँग संवाद गर्ने उपयुक्त बेला नै यही भएकाले जनकपुरलाई केन्द्र बनाएर मिसन थालिएको हुन सक्ने उनको विश्लेषण छ ।
मन्दिरमा पूजापाठ बहाना, गन्तव्य प्रभाव वढाउने मात्र रहेको कति जानकारहरु बताउँछन । शासन गरेको बेलापनि मन्दिरको नाउँमा राजाहरुले अवस्थाको मूल्यांकन गरेको समाजसेवी अमरचन्द्र अनिलले बताए । ज्ञानेन्द्र र कोमलको फोटोसहितका ब्यानरमा ‘श्री ५ महाराजाधिराज र श्री ५ बडामहारानी’ बाट सम्बोधन गरेर गत एक सातादेखि नै प्रदेश २ का पाँच जिल्लामास्वागत गेटहरु बनाइएको देखिएको थियो । पूर्वराजाको गतिविधिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक भोगेन्द्र झा यो प्रदेशलाई राजनीतिकरुपमा दिशाहीन बनाइएका कारण विभिन्न शक्तिहरुले खेल्न थालेको धारणा राख्छन् ।
जहाँ राजनीति दिशाहीन बनाइन्छ, त्यहाँ विभिन्न शक्तिहरु कुनै न कुनै रुपमा आफ्नो स्पेस खोज्छन झाले भने, ‘प्रदेश २ को हविगत पनि यही हो । यहाँ स्पेस खोज्न कोही माता जानकीको शरणमा त कोही जनताको शरणमा आउँछन् ।
Related