काठमाडौं– शुक्रबार कालीकोटमा प्रहरीसँगको झडपमा मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार राहत दिने निर्णय गर्दै छानबिन समिति समेत गठन गरेको छ।
गृहका सहसचिव डा.मान बहादुर बिश्वकर्मा संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। छानबिन समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रबीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ छन्। समितिलाई एक साताभित्र प्रतिवेदन दिने म्याद दिइएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले बताए।
सेवा सुविधाको विषयलाई लिएर शुक्रबार म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो । जसक्रममा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो। झडपमा घाइते भएकाहरुको समेत निशुल्क उपचार गर्ने निर्णय गृहले गरेको छ।







































