भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकअन्तर्गतको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था हटाउने कुनै पनि प्रयास भए नेपाली कांग्रेस सरकारबाट पछि हट्न बाध्य हुने चेतावनी दिनुभएको छ।
बिपी स्मृति दिवसका अवसरमा कांग्रेस मध्यपुर थिमी नगर समितिद्वारा आयोजित विचार गोष्ठी तथा नेपाल तरुण दल मध्यपुर थिमी नगर समितिको अधिवेशन उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले राज्य व्यवस्था समितिको सिफारिस विपरीत काम भएमा कांग्रेस सरकार जोगाइराख्न नहुने बताउनुभयो।
“कुलिङ पिरियड हटाउने प्रयासलाई कांग्रेसले साथ दिँदैन,” उहाँले स्पष्ट पार्नुभयो, “प्रधानमन्त्रीकै निर्देशनमा त्यसलाई हटाउन खोजिए वा समितिको सिफारिसको उल्टो गरियो भने हामी सरकारबारे पुनर्विचार गर्न बाध्य हुन्छौँ।”
महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा गरिएका गलत कामहरूमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने पनि बताउनुभयो। उहाँका अनुसार सिफारिस अनुसार दुई वर्षको कुलिङ पिरियड साढे दुई वर्षसम्म पुग्न सक्छ, तर पूर्ण रूपमा हटाइने छैन।
उहाँले भूमि सम्बन्धी विधेयकसमेत संसदको समितिमा लगेर साझा सहमतिका आधारमा अघि बढाइने जानकारी दिनुभयो।
कार्यक्रममा महामन्त्री शर्माले देश अझै पनि बिपी कोइरालाको सिद्धान्त र दृष्टिकोणअनुसार अघि बढिरहेको उल्लेख गर्दै भन्नुभयो, “यदि विगतमा बिपीलाई सबैले बुझ्ने र मानेको भए देशमा सशस्त्र द्वन्द्व, राजतन्त्रको अन्त्य र अनेकौं राजनीतिक सङ्कट आउने थिएनन्।”
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति तथा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले २०८४ को निर्वाचनलाई लक्ष्य बनाई अफवाह र चुनौतीलाई चिर्दै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय, प्रदेश र केन्द्रमा कांग्रेसको बहुमतको सरकार बनाउन सघन अभियान थाल्नुपर्ने बताउनुभयो।
कार्यक्रम कांग्रेस मध्यपुर थिमी नगर सभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापतिहरू गणेशमान चक्रधर, महेश श्रेष्ठ, कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, कांग्रेस उपसभापति अनिल श्रेष्ठलगायत नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।








































