ललितपुर / कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् ।
“यो रोगको कीटाणु प्रवेश गरेपछि शुरुआती चरणमा दाग देखिने, हातखुट्टा झमझमाउनेलगायतका लक्षण देखिन्छ”, उहाँले भन्नुभयो, “रोगको शुरुआती चरणमा उपचार नथालेपछि पोलेको वा किला बिझेको समेत थाहा नपाउने हुँदै विस्तारै बिरामी हातले केही समाउनै नसक्ने र आफ्ना कामसमेत आफैँ गर्न नसक्ने हुन्छन् ।”
यो रोगलाई धर्मसँग जोडेर हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने गरेको पोखरेलले बताउनुभयो । पहिलेपहिले यो रोगलाई कुष्ठी, कोर, महारोग वा सुनबैरी भन्ने गरिएको थियो । अझैसम्म ग्रामीण क्षेत्रमा यसलाई पूर्वजन्मको पाप, देवता लागेको वा नाग लागेको भन्ने विश्वास कायम रहेको अस्पतालले जनाएको छ । कतिपय व्यक्तिमा भने यो रोग सरुवा रोग भन्ने नबुझेर वंशाणुगत रोग भन्ने भ्रम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु सरुवा रोगजस्तै कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने सबैलाई बुझाउन खाँचो छ ।” सरकारले एक दशक पहिले कुष्ठरोग निवारणको घोषणा गरे पनि वर्षेनी नयाँ बिरामी फेला परिरहेका छन् ।







































