के हो जेनजी ?

0

सन् १९९७ देखि २०१२ सम्मको दशकमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात्‌ ‘जेनजी’ भन्ने गरिएको छ । यो उमेर समूहका ‘नेपो बेबी’ अर्थात् ‘नेपटिजम बेबी’ जुन अगुवा वा प्रसिद्धि कमाएका व्यक्तिका छोराछोरीलाई नामकरण गरिएको छ । ख्यातिप्राप्त व्यक्तिका सन्तानले आफ्नो क्षमताबाट मात्रै नभई आमाबुवाको प्रसिद्धिबाट फाइदा लिई सफलता हासिल गरेको युवा चिनिन्छन् । नेपटिजमको ल्याटिन अर्थ नेपज अर्थात् भतिजाभतिजी, भान्जाभान्जी’ (नेफ्यु) हुन्छ ।

राज्य सत्तामा भतिजाभतिजी, भान्जाभान्जीलगायतलाई नियुक्ति दिने सन्दर्भमा उक्त शब्द प्रचलनमा आएको थियो । न्युयोर्क पत्रिकाले सन् २०२२ को अन्त्यतिर ‘दी इयर अफ दी नेपो बेबी’ शीर्षकको मूल समाचार लेखेपछि यो शब्द बढी चर्चामा आएको थियो । गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै नेपालमा जेनजी पुस्ताले विरोधस्वरूप शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनमा आउनुभन्दा केही दिनअगाडिबाटै ‘जेनजी’ पुस्ताले कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिर राखेर सामाजिक सञ्जालमा तस्बिर प्रदर्शन गर्न थालेका थिए ।