भक्तपुर । देशैभरिको विद्यार्थीको उतीर्ण प्रतिशत घटिरहेको बेला भक्तपुरको देकोचास्थित ख्वप कलेजको विद्यार्थीको उतीर्ण प्रतिशत भने बृद्धि हुँंदै आएको छ । केही दिन अगाडि मात्रै सार्वजनिक भएको बीए तेश्रो वर्षको परीक्षाफल पनि यस्तै देखिएको छ ।
राष्टिय उतीर्ण प्रतिशत ४८ मा सिमित रहँंदा कलेजमा उतीर्ण प्रतिशत भने ९६ रहेको छ । राष्टिय रुपमा १४ हजार ६ सय १९ जना विद्यार्थी परीक्षामा सहभागी रहेकोमा कुल सात हजार सात सय १७ जना (४८ दशमलब नौ प्रतिशत) विद्यार्थी उतीर्ण भएका थिए । तर ख्वप कलेजमा भने ९६ प्रतिशत विद्यार्थी उतीर्ण भएको कलेजले जनाएको छ । कलेजले राखेको तथ्यांक अनुसार कलेजबाट त्यो वर्ष कुल ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ८१ जना (९६ दशमलब चार प्रतिशत) विद्यार्थी उतीर्ण भएका थिए ।
कलेजका प्राचार्य रुपक जोशीले देशैभरिका कलेजहरुमा मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या प्रत्येक वर्ष घटिरहेको बेला ख्वपमा भने त्यस्तो नदेखिएको जनाए । हाल कलेजको मानविकी संकायमा मात्रै वार्षिक एक सय ५० जना नयाँ विद्यार्थी भर्ना हुने गरेको उनले सुनाए ।
कलेजमा एमए अग्रेजी तथा बीए मानविकीका इन्चार्ज कमिनिका न्याईच्वाईले प्रत्येक विद्यार्थीलाई छुटाछुटै रुपमा निगरानीमा राखी पढाई गरेकाले विद्यार्थी कलेजप्रति आकर्षित भएको सुनाउँंछन् । प्रयोगात्मक अभ्यासलाई जोड दिइनु पनि कलेजप्रतिको आकर्षणको अर्काे कारण रहेको उनी सुनाउँंछन् । कलेजप्रति विद्यार्थीको आकर्षण थप्न नयाँंनयाँं शिक्षण पद्धती ल्याउने योजनामा पनि कलेज रहेको उनले जनाए ।
कलेजमा स्नातक तहमै बीएड, बीबीएस, बीए, बीएएसडव्लू, बीएस्सी फिजिक्स, बीएस्सी इन्भारामेन्ट साइन्सलगायतका विषयमा पनि पढाई भइराखेका छन् । साथै स्नातकोतर तहमा पनि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विभिन्न विषयहरुमा पढाई भइराखेका छन् ।
स्नातक तह बीएमा मुख्य विषयहरुमा पत्रकारिता, अंग्रेजी, समाजशाश्त्र, सामाजिक कार्य, संस्कृति, राजनीतिक विज्ञान, अर्थशाश्त्र, ग्रामिण विकास, गणित, मनोविज्ञान, अन्टोपोलोजीका एच्छिक विषयहरु छन् ।







































