ख्वपमा आजदेखि शैक्षिक प्रदर्शनी

649

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा बुधबारदेखि शैक्षिक प्रदर्शनी हुने भएको छ ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षिक उत्सवको अवसरमा दुईदिने प्रदर्शनी हुने भएको हो ।

ख्वप कलेजका प्राचार्य एवं वार्षिकोत्सव मुल उपसमितिका संयोजक रुपक जोेशीले प्रदर्शनीमा भक्तपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुका स्टल रहने जानकारी गराए ।

साथसाथै ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पसमा दश जोड दुईदेखि स्नातकोतर तहसम्ममा अध्ययनरत विद्यार्थीले पनि स्टलहरु रहने उनले जनाए ।

यसवर्ष ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरको आयोजनामा भएको रोवोर्ट प्रतियोगितामा उत्कृष्ट रहेको स्टल विशेष आकर्षण रहने विश्वास उनले व्यक्त गरे ।

प्रतियोगितामा ख्वप इन्जिनियरिंग कलेजका विद्यार्थीलाई पछार्दै ख्वप उच्च माविका विद्यार्थीले बनाएको रोवोर्ट पहिलो भएको उनले स्मरण गरे ।

प्रदर्शनीको झण्डै १० हजार दर्शकहरुले अवलोकन भ्रमण गर्ने विश्वास गरिएको छ । प्रदर्शनी अवलोकनका लागि काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न स्कुल कलेजहरुलाई पनि निमन्त्रणा पठाइएको आयोजक कलेजका प्राचार्य एवं वार्षिकोत्सव मुल उपसमितिका संयोजक जोशीले बताए । प्रवेश भने निःशुल्क गरिएको जनाइएको छ ।

प्रदर्शनी दुई दिन मात्रै रहे पनि वार्षिकोत्सव भने तीन दिन रहने जनाइएको छ । वार्षिकोत्सवको अन्तिम दिन ख्वपमा अध्ययनरत विद्यार्थीका लागि मात्रै साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।
वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु पनि यसअघिबाट नै भइरहेका छन् । दौड, बास्केटबल, फुटबल, भलिवल, ब्याडमिन्टन, बक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला, चेस, टेवलटेनिस, कविता, शर्टफुटलगायतका प्रतियोगिताहरु भइरहेका छने ।

वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि प्राचार्य जोशीको संयोजकत्वमा मुल उपसमितिका साथै विभिन्न शिक्षकहरुको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, बुलेटिन प्रकाशन उपसमिति, दौड प्रतियोगिता उपसमिति, बास्केटवल प्रतियोगिता उपसमिति, फुटवल, भलिवल, ब्याडमिन्टन, पुरस्कार व्यवस्थापन, जलपान तथा खाजा व्यवस्थापन उपसमिति गठन गरिएका छन् । साथै बक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला, चेस, नाम दर्ता तथा रजिष्टेशन, टेवलटेनिस, कविता, साँंस्कृतिक प्रतियोगिता, शर्टफुट, सचिवालय व्यवस्थापन, छपाई र मञ्च तथा टेण्ट व्यवस्थापन उपसमितिहरु पनि गठन गरिएका छन् । यी समितिहरुमा एक सय ५० बढी सदस्यहरु सम्मिलित छन् ।