बुटवल : विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालले मृत घोषित गरेको हो । गोली लागे लगत्तै प्रहरीले उनीहरुलाई अस्पताल पुर्याएको थियो ।
पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकारको आरोपमा पुन नेपाल प्रहरीको मस्टवान्टेड सूचीमा थिए ।
को हुन् गुण्डा नाइके मनोज पुन ?
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए ।
सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ ।
देवदह नपा ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको थियो । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ ।
गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए ।
त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो ।
रूपन्देहीको देवदह नगरपालिका वडा नं–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । पुनको समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।







































