तपाईँको परिचय दिनुहोस न ।
म रोमन शिलाकार । घर जग्गा ब्यवसायी । एकिकृत घरजग्गा मञ्च संघको संयोजक ।
घरजग्गा ब्यवसाय कस्तो ब्यवसाय हो ?
सरसरती भन्नु पर्दा सबैले घरजग्गा ब्यवसायलाई ब्यवस्थित सहर निर्माणकालागि पुलका रुपमा लिन सकिन्छ । यो ब्यवसाय घर जग्गा खरिद गर्न तथा ब्यवस्थित बसोबास गर्न चाहनेहरुकोलागि सहजकर्ता हो । यदी विश्वमा नै रियलस्टेट अर्थात घरजग्गा ब्यवसायी नभएको भए के सहज तरिकाले उपभोक्ताले घर जग्गा पाउने थिए त । यसै सहजताकालागि घर जग्गा ब्यवसायीको आवश्यकता छ । नेपालमा यो जस्तो पेशाका रुपमा लिए पनि यो विश्वमा नै सम्मानित पेशा हो । म यसलाई सम्मानित पेशाका रुपमा नै लिन्छु ।
सरकारले अनुपात्दक क्षेत्र भनि रहेको छ । के साँच्चै घर जग्गा ब्यवसाय अनुत्पादक क्षेत्र हो त ?
सरकार यसमा गलत रहेको छ । कसरी घर जग्गा ब्यवसाय अनुत्पादक हुन सक्छ ? यो त पूर्ण रुपमा उत्पादक क्षेत्र हो । तपाईँनै भन्नु त सियो किने पनि त पैसा त विदेश जान्छ त यो ब्यवसायमा त एक पैसा पनि कही जान्न । यस्तै हाल स्थानीय निकायको ६० प्रतिशत भन्दा बढी आम्दानी घर जग्गा ब्यवसायले धानी रहेको छ ।
मान्छेको सपना भनेको नै आफ्नो परिवार सँग बस्न एक ठिक्कको घर , गाडी र सुखी परिवार हो घर जग्गा ब्यवसाय भनेको भावना सँग जोडिएको ब्यवसाय हो । उक्त मान्छेको सपना पूरा गर्न हामी पुलको भूमिका निर्वाह गर्दछौं । आफ्नो जीवन भरको कमाई नै मानिसले घर जग्गाकालागि नै भनी कमाई रहेको छ । यस्तै अर्को उदाहरणको रुपमा हामी कसैले पनि जग्गा खरिद गरेर घर बनाउँदै छ भने उसले निर्माण सम्वन्धी सम्पूर्ण कुराहरु जस्तै डण्डी, सिमेन्ट, बालुवा , किला कब्जा, फर्निचर , रङ,अन्य दैनिक उपभोग्य सामाग्री लगायत ज्यामीका रुपमा कामदारले काम पाउनुका साथै विभिन्न क्षेत्रका उद्योग हरुलाई पनि टेवा पुगिरहेको छ । यदि घरै नबन्ने हो जमिन खरिद विक्री नै नहुने हो भने यी सवै उद्योगलाई पनि त ठूलो नोक्सानी हुन्छ नि । यसैले म घरजग्गा ब्यवसाय पूर्ण रुपमा उत्पादक क्षेत्र भएको दावा गर्छु ।
घरजग्गा ब्यवसायमा बैंक तथा वित्तिय संस्थाहरुको ठूलो लगानी रहेको छ तर हाल ती संस्थाहरुले एक्कासी ऋण प्रवाह बन्द गरेको छन् । यसलाई तपाईँ कसरी लिनु हुन्छ ?
हाम्रो ब्यवसायिक कारोबार भनेकै बैंक र वित्तिय संस्था मार्फत हुने गर्दछ । यसो नहुँदो हो त ब्यक्तीले करोडौंको लगानी कहाँ बाट गर्न सक्छ । ब्यवसायीले जग्गा खरिद गर्दा होस वा उपभोक्ताले खरिद गर्दा होस बैंक तथा वित्तिय संस्था मार्फतै हुने गर्दछ । मेरो भन्नुको मतलव घर जग्गा ब्यवसायमा ठूलो लगानी रहेको छ । आफ्नो यती ठूलो लगानी रहँदा रहँदै सरकारले बोल्यो भन्दैमा हचुवाको भरमा ऋण प्रवाह रोक्नु गलत हो । नेपाल जस्तो मुलुकमा यदि बैंक तथा वित्तिय संस्थाले घरजग्गामा एक पैसा पनि लगानी नगर्ने हो भने सवै बैंक तथा वित्तिय क्षेत्रमा मौद्रिक असन्तुलन भई टाट पल्टने छन् । ब्यवसायी र उपभोक्ताले लिएको ऋणको ब्याज महिनै पिछे बढिरहँदा दुवै मारमा छन् सरकारले नै यसलाई ब्यवस्थित गरी लगानीको वातावरण बनाउने हो भने घर जग्गा ब्यवसमा विदेशी लगानी समेत आउने थियो ।
घरजग्गा कारोबार ठप्प छ । यो अवस्थामा संगठीत हुनु भएको छ । सांगठानिक रुपमा कस्तो कार्यक्रम ल्याउदै हुनुहुन्छ ?
सवै ब्यवसायी संगठीत छन् , तर घरजग्गा ब्यवसायी संगठीत हुन नसक्दा आज कहिले बैंकले पेल्ने कहिले सरकारले पेल्ने कहिले स्थानीय निकायले पेल्ने त कहिले अन्य समूहहरुबाट पेलानमा हामी पर्नु परेको छ । यसैको समाधानका खातिर पनि हामी भक्तपुरमा संगठीत भएका हौं । मेरै संयोजकत्वमा एकिकृत घरजग्गा मञ्च संघ भनी हामीले एउटा संस्था बनाएका छौं । हाम्रो मुख्य उदेश्य भनेको केवल घरजग्गा ब्यवसायलाई सरकारको नीति नियम अन्र्तगत रहेर उपभोक्ता माझ सही र गुणस्तरीय सेवा दिनु नै हो । ब्यवसायमा रहेको समस्या समाधान गर्ने , ब्यवसायीलाई आई पर्ने कस्ट निवारण गर्ने ,सरकारलाई परेको घरजग्गा सम्वन्धी भ्रम चिर्न सहजकर्ताको भूमिका निर्वाह गर्न, एक द्घावार प्रणालीको विकास गर्न आफूहरु संगठीत भएका हौं ।
तपाईँहरु संगठीत हुनु भएको छ तर घरजग्गा ब्यवसायीमाथि लाग्दै आएको आरोपलाई के भन्नु हुन्छ ?
घरजग्गा ब्यवसायीलाई विना कारण भू–माफिया आदि नामाकरण गर्दै गाली गलौच गर्दै आएका छन् । घर जग्गा ब्यवसायी कसरी भू–माफिया भए सरकारको गलत सोचको उपज मात्र हो यो । सरकारले ब्यवस्थित बस्ती विकास गर्ने हो भने कति समय लाग्छ अनी कति बर्ष र बजेट लाग्छ हामी सरकारको मापदण्डमा रहेर ढल ,चौंडा पक्कीबाटो , खानेपानी ,विजुली लगायतका सम्पुर्ण सेवा दिएर उपभोक्तालाई सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छौं । हामी विकास विरोधी होइनौं यसमा केहि प्रतिशत नाफा ग¥यो भन्दैमा भू–माफिया भन्नु गलत हो । यो ब्यवासाय प्रतिष्ठीत ब्यवसाय हो उपभोक्ता तथा जग्गा धनी दुवैको आर्थिक हैसियत माथी उकास्ने काम हामीले गरेका छौं वा देश भरका कुनै पनि घरजग्गा ब्यवायीले गरेका छन् यसका विभिन्न आरोप लगाउनु र गाली गलौचको भाषा प्रयोग गर्नु र यसैलाई उत्थान गर्नु गलत हो ।
सरकारले कृषि योग्य जमिन संरक्षण गर्ने भन्दै उपत्यका भित्र कित्ता काट लगायतमा रोक लगाएको छ यसले तपाईँहरुलाई कस्तो असर गरेको छ ?
सरकारले हाल कित्ता काट रोक्का गर्नु नै गलत हो । यो त सरासर कर्मचारीलाई चोर बाटोबाट पैसा कमाउ है भनेको हो । यो कार्य भनेको नै कर्मचारीलाई भ्रष्ट बनाउने र घुस खान प्रोत्साहन गर्नु मात्र हो । उपत्यकामा सरकारले आफूले पनि त लाखौं रोपनी जग्गा एकिकरण गदैं स्मार्ट सिटी आदि नामाकरण गरी कृषि योग्य जमिन त नस्टै गरिरहेको छ आफूले गर्दा ठिक अरुले गर्दा बेठिक भन्नु नै गलत हो । अव उपत्यकामा कृषि योग्य जमिन आदि भनी कित्ता काट बन्द गर्नु भन्दा अव आधुनिक कृषि प्रणालीमा जाँदै अनेत्र जमिन माथीको हक बन्दी खुलाउँदै कृषिमा एकिकृत विकास गर्नु पर्ने हो । उपत्यकाका सवै जमिन ब्यवस्थित सहरीकरण गर्नु पर्छ । उपत्यका भन्दा बाहिर औद्योगीक सहर तथा कृषि उत्पादन क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।
घरजग्गा ब्यवसायले समाजमा कस्तो प्रभाव पारेको छ त ?
यसले समाजमा सकारात्मक प्रभाव पारेको छ । घरजग्गा ब्यवसायका कारण नै हाल समाजमा मानिसको आर्थिक हैसियत बढेको छ । तपाईँ उदाहरणका रुपा हेर्न सक्नु हुन्छ त विकट गाउँ जहाँ घरजग्गा कारोवार भएकै छैन तर ५० रोपनी जग्गा छ उसले न उत्पादन गर्न सकेको छ न उसको आर्थिक हैसियत नै राम्रो छ तर भक्तपुरको सुर्यविनायक चाँगु लगायत भक्तपुरका कुनै पनि स्थानमा नै दुई रोपनी जग्गा भएको मानिसको भने घरजग्गाका कारण आर्थिक हैसियत गाउँको ५० रोपनी जमिन हुनेको भन्दा माथी छ यसैले घरजग्गा ब्यवसायले मानिसको आर्थिक हैसियत बढाएको छ क्रय शक्तीमा बढोत्तरी गरेको छ ।
तपाईँहरुलाई सरकारको नीति नमान्नेहरुमा गनिन्छ नी ?
हामी कसरी सरकारको नीति नमान्नेमा पछौं खै थाहा भएन हामी त सरकारको नीतिको अक्षरस पालना गर्नेहरु हौं । सरकाले बनाएको घरजग्गाको नीति विपरित गएर हामीले कहिले पनि कार्य गरेकै छैनौं तैपनि हामीलाई यस्तो आरोप लगाउनु गलत हो ।
अन्तमा के भन्न चहानुहुन्छ ।
अन्तमा सरकाले अनुत्पादक क्षेत्रका रुपमा हेर्ने दृष्टी र उसको आँखाको पट्टी खुलोस भन्न चाहन्छु । यस्तै घरजग्गा ब्यवायको कारण नै हाल विश्वमानै ब्यवस्थित सहरी विकास एवं विकास भएको छ । नेपालमा पनि सरकारले घरजग्गा ब्यवसायलाई ब्यवस्थित तरिकाले चलायमान हुन सहज कर्ताको भूमिका निर्वाह गरोस भन्न चाहन्छु ।







































