ङातापोलअघि नै नक्साविपरीत घर,विस्काकाे माैका छाेपी लुट

577

भक्तपुर । विश्व सम्पदा क्षेत्र ङातापोलको आँगनमै नक्साविपरीत घर निर्माण भएको छ । विश्वनाथ हाडाको नाममा बनेको घर पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले पारित गरेको नक्साविपरीत बनाइएको छ । नक्साअनुसार घरको उत्तर मोहडामा खुला राख्न नपाइनेमा हाल निर्माणाधीन घरको दोस्रो तलादेखि नै खुला राखिएको छ । पुरातत्व विभाग र २०७५ जेठ २९ गते भक्तपुर नगरपालिकाबाट पारित भएको नक्सामा यसरी खुला राखिएको थिएन । तर, निर्माणाधीन भवनमा ङातापोल र भैरवनाथ मन्दिर देखिने गरी टौमढी चोकतिर खुला ठाउँ छोडिएको छ ।
हाडाको घरको मूल ढोका दक्षिण मोहडा पर्ने नारायण चोकमा पर्दछ । उत्तर मोहडा जोडिएको एकतले पसल कबल नौ बाजा भजन गुठीको नाममा छ ।
दैनिक हजारौँको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने क्षेत्रलाई कुरुप हुने गरी नक्साविपरीत घर निर्माणप्रति पुरातत्व विभाग र नगरपालिकाले ध्यान दिनुपर्ने हो । सम्पदा क्षेत्र वरपर छानामा पानीको ड्रम राख्न नपाइने नियमसमेत मिची हाडाको घरमा कालो पानी ड्रम राखिएको छ ।
भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नक्साविपरीत भएको निर्माणको लागि नगरपालिकाबाट नियमानुसार आवश्यक कारबाही हुने बताउनुभयो ।
जात्राको फाइदा
चैत २७ गते बिस्केट जात्राको पहिलो दिन । टौमढीमा रथ तान्ने तयारी हुँदै थियो । मानिसको भीड क्रमशः बढ्दै थियो । टीभी पत्रकार, फोटोग्राफर र भिडियोग्राफरहरू तस्वीर र भिडियो खिच्न उपयुक्त स्थानको लागि वरपर हेर्दै थिए । त्यही बेला उनीहरूले देखे – ङातापोलको ठीक अघिको नयाँ घर । विश्वनाथ हाडाकै सो घरको कौसीबाट तस्वीर र भिडियो खिच्न माथि जान खोज्दा उनीहरू अचम्मित भए । माथि गएर भिडियो र फोटो खिच्ने र जात्रा अवलोकन गर्ने व्यक्तिसँग प्रतिव्यक्ति पैसा उठाइँदै थियो । त्यसरी माथि जान खोज्नेसँग प्रतिव्यक्ति हजारौँ रकमसम्मको माग भएको एक पत्रकारले बताए । भित्तामा लिखित सूचना नै टाँसी ‘निजी बालकोनी’ बाट अवलोकनको बुकिङसमेत खुला गरिएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा सो घरको तस्वीर राखी मानन्धर राजेनले लेखेका छन्, “खुसीको खबर । भक्तपुरमा बिस्केट जात्रा हेर्न आउनेहरूका लागि तःमारि(टौमढी) मा नयाँ घर बनेको छ । यहाँबाट जात्रा हेर्दा रु. ३० हजार, २० हजार अथवा ५ हजारमात्र तिरे पुग्छ । बाहिरको फोटो खिच्नको पैसा पर्दैन फ्रीमा दिएको रे । यो विज्ञापन मैले सित्तै राखिएको हो है । कमिसन चाहिंदैन ।”मजदुरदैनिकबाट