चन्द्रागिरि नगरपालिका ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा हुने अन्तिम चरणमा

0

काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी पूरा गरिएको छ। चन्द्रागिरि नगरपालिका काठमाडौँ जिल्लामा सम्भवतः पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्ने तयारीमा पुगेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम चरणको काम सम्पन्न भएको जानकारी दिनुभयो। यससम्बन्धी तयारीका लागि उहाँकै अध्यक्षतामा बुधबार सामाजिक समितिको बैठकसमेत बसेको छ। नगरपालिकाका अनुसार १५ वडामध्ये वडा नम्बर १२ मात्र ‘बालश्रममुक्त वडा’ घोषणा हुन बाँकी रहेको छ।

आगामी हप्ता आयोजना हुने विशेष समारोहमा वडा नम्बर १२ सहित सम्पूर्ण चन्द्रागिरि नगरपालिकालाई औपचारिक रूपमा ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिने कार्यक्रम रहेको जनाइएको छ।

चन्द्रागिरि नगरपालिकाले ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नम्बर १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरेको थियो। त्यसपछि चरणबद्ध रूपमा अन्य वडाहरूलाई बालश्रममुक्त घोषणा गर्दै आएको हो।

यसक्रममा विसं २०८० असोज ४ मा वडा ३, फागुन २७ मा वडा ८, चैत २१ मा वडा ६, चैत २३ मा वडा ७, चैत ३० मा वडा ५, विसं २०८१ भदौ २९ मा वडा ११, असोज ५ मा वडा १०, माघ १० मा वडा ९, माघ २५ मा वडा २, फागुन १८ मा वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, भदौ १३ मा वडा १३ र भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिइएकोमा लक्ष्यअगावै सो कार्य पूरा हुन लागेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख गिरीले भन्नुभयो,
“नगरपालिकामा बाल संरक्षण तथा बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री वातावरण सिर्जना गर्न हामी प्रतिबद्ध छौँ। ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी बजेट र कार्यक्रम सञ्चालन गरिएकै कारण आज ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अवस्थामा आइपुगेका हौँ।”

नगरपालिकाले ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५)’, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७’, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन, २०५६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना, २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणका गतिविधि सञ्चालन गर्दै आएको छ।

‘बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८’ अनुसारका ३९ सूचक पूरा गर्दै बालश्रम न्यूनीकरणतर्फ अघि बढाइएको चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले जानकारी दिनुभयो। उहाँले ‘बालश्रममुक्त वडा’ घोषणापछि यसको दिगोपन र निरन्तरताका लागि निरन्तर अनुगमन र साझेदारी आवश्यक रहेको बताउनुभयो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, सङ्घसंस्था तथा उद्योग–व्यवसाय क्षेत्रको सहकार्यका कारण चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त घोषणाको चरणसम्म पुर्‍याउन सम्भव भएको हो।

यसअघि देशभर हालसम्म छ स्थानीय तह मात्र ‘बालश्रम मुक्त’ घोषणा भएका छन्। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाकी अधिकृत विष्णुकुमारी बाँस्कोटाका अनुसार बाल विकास समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाललगायत संस्थाको सहयोगमा बालश्रम निवारणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन्। तीमध्ये १३ वर्षमुनिका १८ प्रतिशत र १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा संलग्न रहेको देखिन्छ। बालकको तुलनामा बालिका बालश्रममा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।