भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको शिक्षा ऐन र नियमावलीमा एउटा कक्षामा कम्तीमा पनि ५० विद्यार्थी हुनुपर्ने उल्लेख छ ।
नियमावलीमा उक्त प्रावधान भए पनि नगरपालिका क्षेत्रका विद्यालयमा रहेका कक्षाको त परको कुरा आधा दर्जन विद्यालयमा त एकजना विद्यार्थी पनि छैनन् ।
नगरपालिकाको शिक्षा ऐन र नियमावली २०७४ को परिच्छेद ८ मा विद्यार्थी संख्याको हकमा ।।।सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतया उपत्यका नगर क्षेत्रमा पचास जना हुनुपर्नेछ’ भन्ने उल्लेख छ ।
नगरपालिका क्षेत्रभित्रका ३९ सामुदायिक विद्यालयहरुमध्ये ६ विद्यालयमा भने विद्यार्थी नै छैनन् । १४ वटा मावि रहेको सो नगरपालिकाका विभिन्न स्थानमा रहेका ६ आधारभूत विद्यालय विगत केही वर्षदेखि विद्यार्थी शून्य भएका हुन् ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार नगरपालिका मातहतमा आए पनि नगरपालिकाले एकदुई शिक्षकलाई यताउति गर्नुबाहेक अरु कुनै काम गर्न सकेको छैन ।
समग्रमा नगरपालिकाको शिक्षाको स्थिति निराशाजनक नभएको मेयर सोमप्रसाद मिश्रले बताए पनि आधा दर्जन विद्यालयको स्थिति हेर्ने हो भने निराशाजनक मात्र नभएर दिक्कलाग्दो छ ।
कारण विद्यार्थी नभएर शून्य भएका विद्यालयहरु विद्यालयभन्दा बढी शिक्षकहरुको हाजिरी गर्ने थलो र दिन कटाउने गज्जबको ठाउँमा परिणत भएको छ ।
विद्यार्थी शून्य रहेका विद्यालयहरुमा न्याचोपौवा आधारभूत विद्यालय(आवि), पञ्चकन्या आवि, बालभक्त आवि, चाँगुनारायण आवि, चेतना आवि र कृष्ण आवि रहेका छन् ।
न्याचोपौवामा तीन शिक्षक छन् । शिक्षकहरु क्रमशः रामराजा बुढाथोकी(प्रअ) सोही स्कुलमा
छन् । शिक्षक बद्री भडेल, चाँगु मावि स्रोत केन्द्रमा काज छन् ।
शिक्षक कृष्णबहादुर थापा भने काजमा नगरपालिकाको नक्सा शाखामा छन् ।
त्यस्तै चाँगुनारायण नपा वडा नं. ५ छालिबको पञ्चकन्या आधारभूत विद्यालयका शिक्षक इन्द्रबहादुर थापा, राधाकृष्ण आधारभूत विद्यालयमा काजमा छन् ।
शिक्षक तोयानाथ ढुंगाना कालिका माविमा काजमा छन् ।
शिक्षक सुदर्शन लामिछाने र जानुका पौडेल त्यही विद्यालयमा छन् । उनीहरु विद्यार्थीविहीन विद्यालय जाने, स्कुल खोल्ने
गरिरहेको नगरपालिकाको शिक्षा शाखाका माधव पोखरेलले बताए ।
यता नगरपालिकाको वडा नं. ४ स्थित बालभक्त आधारभूत विद्यालयको अवस्था अझ नाजुक छ । सो विद्यालयका मग्रीहरु
थुपारेर राखिएको छ । तीन जना दरबन्दी र १ राहत शिक्षक दरबन्दी रहेको सो विद्यालयका शिक्षकहरु आउने, हाजिर गर्ने गरेको शिक्षा शाखाले जनाएको छ । सो विद्यालयमा जम्मा २ कक्षामा जम्मा २ जना विद्यार्थी र इसिडीमा ४ विद्यार्थी रहेको अनुगमनका क्रममा फेला परेको नगर शिक्षा शाखाको भनाइ छ । सो विद्यालयमा दरबन्दीमा रहेका शिक्षक शंकरप्रसाद गेलाल, आजाद माविमा काजमा छन् भने विद्यार्थी नभए पनि शिक्षकहरु क्रमशः श्याम बानियाँ, विश्वप्रसाद पोखरेल र हरिबहादुर तामाब त्यही विद्यालयमा छन् ।
यता सोही वडाको चाँगुनारायण आधारभूत विद्यालयमा पनि ४ जना दरबन्दी छ । सो विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् ।
शिक्षकहरु क्रमशः दीपक थापा(प्रअ), प्रभाकर खनाल, जयराम आचार्य र गीता दाहाल फुर्सदिला भएका छन् । नगरकोटको चेतना आधारभूत विद्यालयमा पनि एक जना पनि विद्यार्थी छैनन् । शिक्षकहरु सानुमाया थिब र राजकुमार फुयाँलले विद्यार्थी बढाउन नगरपालिकामा कार्ययोजना प्रस्तुत गरे पनि विद्यार्थी हुन सकेको छैन ।
नगरपालिकाको वडा नं. ८ सुडालस्थित कृष्ण आधारभूत विद्यालयमा पनि तीन दरबन्दी छन् । शिक्षकहरु अर्जुन बहादुर काफ्ले, श्यामबहादुर लिगल, कृष्णबहादुर कार्की विद्यालयमा नियमित आउने नगरेको अनुगमनको क्रममा फेला परेको नगर शिक्षा शाखाका अधिकारी बताउँछन् । सो अधिकारीले सो विद्यालयमा शिक्षकहरुले खेताला शिक्षक राखेको पनि बताए ।
हामी जाँदा त्यहाँ दरबन्दीका शिक्षक भेटिएनन्, दरबन्दीका शिक्षकले नै खेताला शिक्षक राखेका रहेछन् ।’
शाखाका अधिकारी पोखरेलले भने । विद्याथी नभएपछि ती विद्यालयलाई मर्ज गर्ने तयारी गरिरहेको नपाले जनाएको छ ।