चित्रकार निरौलाको गीत र अनुकाको स्वरमा म्युजिक भिडियो

296

 

मैले चाँहे तिमीलाई, मनले चाह्यो साथ…..

बलराम प्यासी

काठमाडौं । तीर्थ निरौला पेशाले चित्रकार । चित्रकलामा स्थापित र प्रतिष्ठित नाउँ । त्यसो त उनी लेखक र समालोचक पनि हुन । निकै राम्रा चित्र कोर्छन उनी । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर लगायत राजधानीका आधा दर्जन राम्रा विद्यालयका विद्यार्थीलाई चित्रकला सिकाउँछन । क्यान्भासमा रमाउने तीर्थ केही महिना अघि एक्कासी गीतकार बने । विगतमा यसो फुर्सदमा कविता कोर्दै आएका तीर्थ केही महिनाअघि मात्रै आफु संलग्न विद्यालय ट्रिटन स्कुलका समकक्षी शिक्षक÷कवि ओमनाथ कडरियाको हौसलामा फ्याट्टै गितकार पनि बने ।

जब उनले लेखेको पहिलो गीत मैले चाँहे तिमीलाई…मनले चाह्यो साथ…धरानको विद्यालयमा पढ्दादेखिको गायीका साथी अनुका राई र अर्का गायक टिका मगरको स्वरमा रेकर्ड गरे, उनको खुसीको सीमा रहेन । त्यसमाथि त्यो गीतलाई म्युजिक भिडियो बनाएपछि त चित्रकार तीर्थ साँच्चै गीतकारमा पनि जम्ने संभावना उत्तिनै बढेको छ । सानैदेखि गायनकी शौखिन अनुका पेशाले सरकारी कर्मचारी हुन । उत्सर्ग जनसांस्कृतिक मञ्च धरानबाट गायन यात्रा शुरु गरेकी अनुका आफ्नो रुचिका कारण गायनलाई निरन्तरता दिइराखेको बताउँछिन ।

तीर्थकोे गीत लेखन यात्रा पहिलो भएता पनि गायीका अनुकाको भने यो गीत पहिलो गायन होइन । यसअघि उनले ‘मन परयो मायालु…, हल्ला नगर… इलाम शहर, कसरी हो विर्सने.., तिम्रो न्यानो साथ, दशैं आयो, तिहार आयो….लगायत शिर्षकका गीत गाएर गायन क्षेत्रमा जमिसकेकी छिन । यी गीतहरुको म्युजिक भिडियो पनि बनिसकेको छ । यसका साथै अनुकाका अरु ५ वटा आधुनिक र लोकगीत सहितको म्युजिक भिडियो बजारमा आउने क्रममा छ ।

तीर्थको रचना, मोहन मगरको संगीत र रोशन वान्तवा राईको एरेन्जमा सजिएको म्युजिक भिडियो एमआर क्रियशनले तयार गरेको हो । म्युजिक भिडियोको निर्देशन विजय सुब्बाले गरेका छन भने रोहित बस्नेत र एल्जिना मगरले मोडेलिंग गरेका छन् । शुक्रबारदेखि तीर्थको पहिलो गीत मैले चाँहे तिमीलाई…युट्युव च्यानलमा पनि आइसकेको छ । सुनेर र हेरेर प्रतिकृया दिन रचनाकार तीर्थ र गायीका अनुकाले आग्रह गरेका छन् ।