Home निर्वाचन चुनाव जितेर प्रतिद्वन्द्वीलाई मेरै हातले लड्डु खुवाउँछु : पण्डित
विराटनगर : मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिसभाका उम्मेदवार लालबाबु पण्डितले आफूले चुनाव जितेपछि प्रतिद्वन्द्वीलाई आफ्नै हातले लड्डु खुवाउने र परिचय गर्ने बताएका छन्।
पण्डितका प्रतिद्वन्द्वी कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो प्रतिद्वन्द्वीलाई चिन्दिन भनेको प्रसंग कोट्याउँदै पण्डितले आफूले चुनाव जितेमा साइकल चढेर कोइरालालाई लड्डु खुवाउन जाने बताए।
‘मैले चुनाव जितेपछि, प्रतिद्वन्द्वीलाई पहिलो पटक साइकलमा चढेर कोइराला निवासमा पुगेरै लड्डु खुवाउँछु र भन्छु मै हुँ लालबाबु पण्डित,’ पण्डितले भने, ‘देश विदेशमा मलाई सबैले चिनेका छन्, तर मेरै प्रतिद्वन्द्वीले नचिनेको सुनेको छु।’ विराटनगरमा आइतबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा पण्डितले आफूले विगतमा पनि भ्रष्टाचार नगरेको र अब भविष्यमा पनि भ्रष्टाचार नगर्ने प्रतिवद्वता व्यक्त गरे।
राजनीतिक पद बेचेर पैसा माग्ने प्रवृत्ति बढेको प्रति व्यंग्य गर्दै पण्डितले यस्तो प्रवृत्ति रहे देश पनि नबन्ने र सम्बन्धित नेता पनि सकिने बताए।
पण्डितलाई पाँच लाख सहयोग पण्डितलाई अष्ट्रेलिया निवासी एक नेपाली महिलाले निर्वाचन खर्चको रुपमा पाँच लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन्। तेह्रथुम घर भइ हाल अष्ट्रेलियामा रहेकी राधिका पोखरेलले आफ्नो ट्रष्टमार्फत पण्डितलाई पाँच लाख एक सय ११ रुपैयाँ हस्तान्तरण गरेकी हुन्।
आइतबार राधिकाका दाजु नारायण पोखरेल र भाइ चन्द्र पोखरेल तथा ट्रष्टका अध्यक्ष भगिश्वर लिम्बुले संयुक्त रुपमा पण्डितलाई चेक हस्तान्तरण गरेका थिए । पोखरेलले पण्डित जस्ता नेपाली राजनीतिका निष्कलंक, छविका व्यक्तिले चुनाव जितेको हेर्न मन भएकोले सहयोग गरेको बताए।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पण्डितले निर्वाचनमा राज्यले तोकेको सीमाभित्रै रहेर खर्च गर्ने बताए। पण्डितलाई कतारबाट नेपालीहरुले संयुक्त रुपमा ६० हजार रुपैयाँ सहयोग गरेका छन्।
Related