Home शिक्षा जनक शिक्षाको गोदाममा २४ लाख पाठ्यपुस्तक विद्यार्थीका हात शुन्य
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रको गोदाममा २४ लाख पाठ्यपुस्तक भएपनि हाल सम्म विद्यार्थीका हात भने शुन्य छन् ।
नयाँ शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीले झेल्दै आएको समस्या हो– पाठ्यपुस्तक अभाव । विद्यालयमा धमाधम पढाई सुरु हुन्छ तर विद्यार्थीको हातमा पुस्तक पुगेकै हुँदैन । विगत केही वर्ष यता विद्यार्थीले यो समस्या वर्सेनि भोग्नु परेको छ । सुन्दा अचम्म लाग्न सक्छ, विद्यार्थी पाठ्यपुस्तक नपाएर भौतारिँदा जनक शिक्षा सामग्री केन्द्रको गोदाममा भने पाठ्यपुस्तकको गादामै छ ।
समयमै पाठ्यपुस्तक प्रकाशन गरी विद्यार्थीलाई उपलब्ध गराउने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रको गोदाममा अहिले बिक्न बाँकी साढे २४ लाख भन्दा बढी पाठ्य पुस्तक छन् । यसपछाडि प्रमुख दुई करण छन्–
पहिलो,– समयमा पाठ्य पुस्तक विद्यार्थीसम्म पुर्याउन नसक्नु । र, दोस्रो–आवश्यकताभन्दा बढी छाप्नु ।
केन्द्रले शैक्षिक सत्र २०७५ मा ५ लाख प्रति पुस्तक बिक्री गर्न सकेन । ती पुस्तक अहिले केन्द्रको गोदाममा थन्केका छन् । गत वर्ष (२०७४ साल) नबिकेका १९ लाख ५३ हजार ५९७ पाठ्यपुस्तक समेत जोड्दा अहिले केन्द्रको गोदाममा २४ लाख ५३ हजार ५९७ थान पुस्तक बिक्री हुन नसकेर बसेका छन् ।
“शिक्षा विभागले उपलब्ध गरेको विद्यार्थी भर्ना तथ्यांकको आधारमा प्रत्येक वर्ष जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ,” केन्द्रका प्रशासकीय प्रमुख तथा सञ्चार संयोजक कृष्ण कटुवाल भन्छन्, “हामीले शैक्षिकसत्र २०७५ मा विद्यार्थी भर्नाको ८० प्रतिशत मात्रै पाठ्यपुस्तक छापेका थियौं । तर तथ्यांक अनुसारको पुस्तक बिक्री हुँदैन । गोदाममा थन्क्याएर राख्नु पर्ने हुन्छ ।”
शैक्षिक सत्र २०७६ को पाठ्यक्रम थोरै मात्र परिमार्जन अथवा परिवर्तन भए छापिएर बिक्री हुन नसकेका करिव १२ करोड १५ लाख ४७ हजार ५९४ रुपैयाँबराबरका ती पुस्तक त्यसै खेर जाने देखिन्छ ।
केन्द्रले विद्यार्थी भर्ना तथ्यांकको आधारमा प्रत्येक वर्ष पाठ्यपुस्तक छाप्दै आएको छ । बिक्री हुन नसेकेका पुस्तक केन्द्रदेखि क्षेत्रीय गोदाम र चौरहरुमा थन्काइएको छ । केन्द्रले हरेक वर्ष करोडौं रुपैयाँको छपाइ गर्ने ती पाठ्यपुस्तक बिक्री हुन नसक्दा राज्यले वर्सेनि करोडौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ ।
केन्द्रका प्रशासकीय अधिकृत तथा सञ्चार संयोजक कटुवालका अनुसार यसअघि प्रत्येक वर्ष असार मसान्तसम्म स्टकमा ३० देखि ३२ लाखसम्म किताब रहन्थे । “अन्य वर्ष सरकारको तथ्यांक अनुसार नै किताब छापिए पनि किताबको अभाव हुने गरेको थियो । तर यस वर्ष त्यो अवस्था आएन । हामीले छापेका मध्ये धेरै किताब वितरण गरेका छौ” कटुवालले भने ।
केन्द्रका बजार प्रमुख शम्भु पोखरेलका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा १ करोड ७८ लाख ३२ हजार ८७८ थान पाठ्य पुस्तक छपाइ गरिएको थियो । त्यसमध्ये १ करोड ७३ लाख ३२ हजार ५५६ थान बिक्री भएका थिए । “पाठ्यक्रम परिवर्तन गरिए अघिल्लो वर्ष पुस्तक छाप्दा गरेको लगानी खेर जान्छ,” पोखरेलले भने । यद्यपि अहिलेसम्म पाठ्यक्रम परिवर्तन गर्ने कुरा भने उठेको छैन । तर नयाँ शैक्षिक सत्रको लागि पुस्तक छाप्ने काम सुरु भयसकेको उनले जानकारी दिए ।
केन्द्र यस वर्ष कक्षा १ देखि ५ सम्मका पुस्तक रंगिन र त्यसभन्दा माथि कक्षा १० सम्मका सबै किताब पुनः प्रकाशन गर्ने तयारीमा छ । छापिएका पाठ्यपुस्तकलाई विद्यालयले बालबालिकाको संख्याका आधारमा किनेर विद्यार्थीका हातमा पुर्याउने प्रावधान छ । केन्द्रले गत वर्ष छापेको पाठ्युपस्तक केन्द्रको धनगढी, नेपालगन्ज, पोखरा, भरतपुर, जनकपुर र विराटनगरका क्षेत्रीय कार्यालय तथा गोदामहरुमा थन्केका छन् ।
समस्या कहाँ छ ?
केन्द्रका प्रशासकीय प्रमुख कटुवालका अनुसार केन्द्रले पुस्तक छापेर आठ वटा वितरण केन्द्र तथा क्षेत्रीय कार्यालयहरुमा पुर्याउने गरेको छ । ती आठ वटा बिक्री केन्द्रबाट १ हजारभन्दा बढी विक्रेताले सम्बन्धीत विद्यालय र ठाउँहरुमा पुर्याइदिने गर्छन् । बिक्रेताले समयमै किताब विद्यालयसम्म नपुर्याउने गरेको आरोप केन्द्रको छ ।
पाठ्यपुस्तक ढुवानी गर्ने ‘एजेन्ट’ र विद्यालयका शिक्षकको बुझाई भने फरक छ । उनीहरुकाअनुसार जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तकको सेट एकैसाथ उपलब्ध नगराउँदा बिक्री वितरणमा समस्या भएको हो । नयाँ पुस्तकको सेट समयमै प्राप्त नहुँदा विद्यालयहरूलाई पुरानै पाठ्यपुस्तक पढाउन बाध्यता भएको उनीहरु बताउँछन् ।
जनक शिक्षाले दुर्गम जिल्लामा पाठ्यपुस्तक ढुवानी गर्न ‘एजेन्ट’लाई पुस्तक मूल्यको झन्डै ३८ प्रतिशत कमिसन दिने गरिएको छ भने सुगम ठाउँमा कमिसन थोरै मात्रै दिइन्छ । जनकपुरका एक किताब व्यवसायीका अनुसार कतिपय एजेन्टले दुर्गममा किताब पुर्याउने भनेर सुगम ठाउँ तराइतिर बेचेर नाफा खान्छन् भने शिक्षक र एजेन्टले बिल भर्पाइ मिलाएर कमिसन खाने गरेका छन् ।
Related