बलराम प्यासी
काठमाडौं । सांग व्यक्तिहरुले हरेक अधिकार र सुविधाहरु पाइरहेका हुन्छन, अध्ययन, स्वास्थ्य, घुमफिर, मनोरञ्जन र खेलकूद आदिका सुविधा । तर अपांगता भएकाहरुले मुस्किलले मात्रै केही सुविधा पाउने गर्छन ।
यस्तैमा भक्तपुर जिल्लामा रहेका मष्तिष्क पक्षघात भएका वालवालिका (सेवरल पाल्सी), मष्तिष्कको तुलनात्मक विकास नभएका (मस्कुलर डिष्ट्रोफि) र वहुअपांगता भएका व्यक्तिहरुवीच प्रतियोगितात्मक बोसिया खेल आयोजना गरिएको छ । जसमा भाग लिन पाउँदा उनीहरु दंगमात्रै भएनन पुरस्कार जित्दा त झनै हर्षित भए ।
२÷२ जनादेखि ६÷६ जनासम्म खेल्न सकिने सो खेलमा तीनथरी बलहरु सेतो बल (ट्रयाक बल), रातो र निलो बल हातले भूँई या र्याम्पबाट फ्याँकेर या गुडाएर खेल्ने गरिन्छ ।
मनोरञ्जनको साथै खेलप्रति चासो जगाउन सो प्रतियोगिता आयोजना गरिएको बोसिया खेलका प्रशिक्षक बाबुकृष्ण रंजितले बताए । राम्रोसंग हिँड्न, दौडिन र उफ्रिन नसक्नेहरुका लागि यो खेल खेलाइने गरिन्छ । उनीहरुले ह्विलचियरबाट र भूँइमा बसेर यो खेल खेलेका थिए ।
नेपाल बोसिया संघको प्राविधिक सहयोग, एरिक फिजियोथेरापि एण्ड काउन्सीलींग सेण्टरको सहयोगमा भक्तपुर सिबिआर संस्थाले सो प्रतियोेगिता आयोजना गरेको थियो ।
पहिलोपटक आयोजना गरिएको प्रथम भक्तपुर जिल्ला स्तरीय बोसिया प्रतियेगितामा भक्तपुरका ८ वटा सुस्तमनस्थिति विद्यालय, वालगृह, दिवा कक्षा र विशेष कक्षामा रहेका वहुअपांगता भएका व्यक्तिहरु गरी ५० जनाको सहभागिता थियो । 
सो प्रतियेगितामा स्वर्ग वालगृह, च्याम्हसिंह पहिलो, सुस्त मनस्थिति िकल्याण विद्यालय वाराहीस्थान दोस्रो र दिवा कक्षा केन्द्र दुवाकोट तेस्रो भएको थियो । उनीहरुलाई महिला तथा वालवालिका कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले चिया खाने कप र प्रमाणपत्र पुरस्कार दिएकी थिइन । कार्यक्रममा जाइका नेपाल बोसिया प्रशिक्षक अकिको आसामी तथा भक्तपुर सिबिआर संस्थाका संयोजक रमेशराम श्रेष्ठले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।







































